काठमाडौं,३ मंसिर ।
मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन् । यसअघिका चुनावमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । सबै दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरिएको हो ।
निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा निर्देशिका पठाएर सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिले मात्रै मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्थाबारे जानकारी गराएको छ । यो व्यवस्था अनुसार मतदान केन्द्रमा सम्बन्धित प्रदेश र सङ्घमा उम्मेदवार नभएको राजनीतिक दलका प्रतिनिधिहरु बस्न पाउँदैनन् ।
सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र पेस गरेपछि मात्रै मतदान केन्द्रमा प्रतिनिधि बस्न पाउने छन् ।
लाइभदाङ । ३ मंसिर २०७९, शनिबार १२:३३ बजे