प्रत्यक्षतर्फ नजिते पनि समानुपातिक सांसद बन्न कति मत चाहिन्छ?

काठमाडौं, ३ मंसिर ।
मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । निर्वाचनमा कुनै दलले प्रत्यक्षतर्फ एक सिट पनि ल्याएन तर समानुपातिकतर्फ केही लाख मत ल्यायो भने सांसदमा प्रतिनिधित्व हुन्छ कि हुँदैन भन्ने जिज्ञासा धेरैमा छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रत्यक्षतर्फ शून्य सिट भए पनि समानुपातिकतर्फ खसेको कूल सदर मतको ३ प्रतिशत वा त्योभन्दा बढी मत ल्याएमा उमेदवार निर्वाचित हुनेछन् ।

राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि संसद्मा त्यो दलको प्रतिनिधित्व हुनेछ । खसेको सदर मतको तीन प्रतिशतभन्दा कम मत ल्याएमा उक्त दलका उमेदवार निर्वाचित हुने छैनन् ।


प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० (११) मा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उमेदवार निर्वाचित हुनेछ ।’

मानौँ, यो निर्वाचनमा समानुपातिकतर्फ १ करोड ५ लाखभन्दा भन्दा बढी मत खस्यो । त्यसमध्ये १ करोड मत सदर भयो भने तीन प्रतिशत मत कटाउन तीन लाखभन्दा बढी मत ल्याउनुपर्छ । तीन प्रतिशत मत ल्याएन भने त्यो दलको संसद्मा प्रतिनिधित्व हुनेछैन । प्रत्यक्षतर्फ निर्वाचित भएको खण्डमा भने प्रतिनिधित्व हुन्छ ।