एमाले निकट संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष निर्वाचन अधिकृत

दाङ,२५ कात्तिक ।
दाङ क्षेत्र नं.१ का निर्वाचन अधिकृत एमाले निकट कर्मचारी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उच्च अदालत तुलसीपुरको उपरजिष्ट्रार पदमा कार्यरत मानबहादुर विष्टलाई निर्वाचन आयोगले दाङ क्षेत्र नं. १ को मुख्य निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।

उनी उपरजिष्ट्रार हुनुभन्दा पहिले एमाले निकट कर्मचारी संगठन नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष थिए । उपरजिष्ट्रार भएपछि कर्मचारी संगठनमा छैनन् । तर, उनी उपरजिष्ट्रार भएपनि सामाजिक सञ्जालमा भने एमालेको प्रचार गर्दै आएका छन् ।

उनले एमालेको गएको बर्ष मंसीरमा चितवनमा भएको महाधिवेशनमा सहभागिताकालागि अनुरोध गर्दै सामाजिक सञ्जालमा पोष्ट राखेका थिए । त्यस्तै उनले एमालेको प्रचार र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विरोध गरेर थुप्रै कुराहरु सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका थिए । त्यसले गर्दा पनि उनी एमालेसंग निकट भएको प्रष्ट देखिन्छ । यस अघिको निर्वाचनमा पनि उनी लमही नगरपालिकामा निर्वाचन अधिकृतकै रुपमा खटिएका थिए ।