चौधरीलाई सम्मान

तुलसीपुर, २३ भदौ ।
५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस एवम राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेक्टिस खेलमा राष्ट्रिय नयाँ किर्तिमान कायम गर्ने निशा चौधरीलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले दिवसका अवसरमा चौधरीलाई नगद र प्रमाणपत्रले सम्मान गरेको हो ।

नगरप्रमुख टीकाराम खड्काले खेलाडी राष्ट्र कै गहना भएकाले थप हौसला प्रदान गर्नका लागि सम्मान गरिएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले शिक्षा क्षेत्र सुधार नै पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुर्धानका लागि अभिभावक,शिक्षक र सरकारबीच समन्वय सहकार्य भएमात्रै सम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकहरुकै भूमिका महत्वपूर्ण रहने बताउनुभयो । दिवसकै अवसरमा कक्षा तीनसम्म पढ्ने विद्यार्थीहरुका लागि पठन सीप प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा गुरु जजुर नमुना माध्यमिक विद्यालयका लक्ष्मण बुढाथोकी प्रथम, मावि सेन्टरका किञ्जल परियार द्धितीय,वीरेन्द्र मावि भ्यूडहर सोनपुरका लक्ष्मी रास्कोटी तृतीय र जनकल्याण माध्यमिक विद्यालय दुधरासका विमला घर्ती शान्त्वना स्थान हासिल गर्नुभएको थियो ।


कार्यक्रम सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र सम्बन्धित विद्यालयलाई समेत नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो, भने सञ्चालन मनबहादुर खड्काले गर्नुभएको थियो ।