नेपालमै पहिलो पटक हाम्रो पहुँच माविलाई सहकारी विद्यालय संचालनको अनुमति

दाङ, १५ कात्तिक ।
दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयले सहकारी विद्यालय संचालनको अनुमति प्राप्त गरेको छ । तुलसीपुर–७ मा रहेको विद्यालयलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संचालन गर्ने अनुमति प्राप्त गरेको हो ।

सहकारीलाई तुलसीपुर उपमहानगरपालिकाले विद्यालय संचालनको अनुमति दिएको हो । सहकारी विद्यालय स्थापना, अनुमति, संचालन सम्बन्धि निर्देशिका २०७८ बमोजिम हाम्रो पहुँच माविलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तगर्तको सहकारी विद्यालयको रुपमा संचालन गर्न अनुमति प्रादान गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा यसअघि कुनै पनि सहकारीले विद्यालय संचालनको अनुमति नपाएको उहाँले बताउनुभयो । सहकारीले विद्यालय संचालन गर्ने अनुमति प्राप्त गरेको नेपालमै पहिलो पटक हो ।


नगरप्रमुख टिकाराम खड्काले सहकारीका अध्यक्ष शुक्रराज भण्डारी, सल्लाहकार भरत भण्डारी र विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीलाई मंगलबार विद्यालय संचालनको अनुमति पत्र प्रदान गर्नुभएको हो ।

निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेको तत्परतामा सहकारी विद्यालय संचालनको निर्देशिका २०७८ जारी भएसंगै अहिले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीले विद्यालय संचालनको अनुमति प्राप्त गरेको सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।

सहकारीले विद्यालय संचालन गर्ने अनुमति प्राप्त गरेको नेपालमै पहिलो भएको उहाँले बताउनुभयो । उहाँले विद्यालय संचालनको अनुमतिका लागि निर्देशिका बनाउने जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।