दीपक बोहरा
दाङ,६ कात्तिक ।
दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुवेर वेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शनिबार दिउसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरीहरु आईतबार दिउसो पौने २ बजेसम्म पनि भेटिएका छैनन् ।
घटना स्थलमा रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विरबहादुर भण्डारीका अनुसार उनीहरु डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको अबस्थामा रहेको हुन सक्ने भएकाले पनि भेटाउन गाह्रो भएको छ । स्थानीयहरु पानी मुनी गएर खोज्दा पनि भेटाउन सकेका छैनन । उनीहरुको खोजी कार्यकालागि बाँकेको शम्शेरगञ्जबाट गोताखोरको टोली आउन लागेको छ । साढे १२ बजेतिर शम्शेरगञ्जबाट उक्त टोली हिडेको उनले बताए ।
शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका वडा नं. २ सिमलकुना निवासी अन्दाजी १५/१६ बर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामा घर आएकी अन्दाजी १४/१५ वर्षीया गोमा चन्द डुबेर वेपत्ता भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.११ र दंगीशरण गाउँपालिका वडा नं. २ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन जना किशोरी गएका थिए । ति मध्ये दुईजना पौडी खेल्न पनि बीचमा गएको र अर्का दंगीशरण २ सिमलकुना निवासी १३ बर्षीया निरुता बस्नेत छेउमै थिइन् । उनीहरु दुबैजना डुबेपछि निरुताले स्थानीयलाई खबर गरेपछि स्थानीयले प्रहरीलाई बोलाएको थियो ।
लाइभदाङ । ६ कार्तिक २०७९, आईतवार १३:३९ बजे