लायन्स क्लब अफ दाङद्वारा विद्यार्थीलाई खिर तथा शैक्षिक सामग्री वितरण

दाङ, २९ साउन ।
लायन्स क्लब अफ दाङको आयोजनामा जनता आधारभूत विद्यालय, हर्नेटीमा विद्यार्थीहरूलाई खिर खुवाउने तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ दाङका अध्यक्ष लोक बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका सिनियर एजुकेटेक चिफ लायन बुद्ध प्रकाश सिंह प्रमुख अतिथि तथा लायन्स क्लब अफ दाङका पूर्वअध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ एनका डेपुटी चिफ लायन गोरख बहादुर ओली विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा जनता आधारभूत विद्यालय हर्नेटीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमा घर्ती, विद्यालयका प्रधानाध्यापक कमल राज थापा, राप्ती परोपकार संघ नेपालका सचिव राघव देवकोटा, संस्थाका सदस्य तथा समाजसेवी खिलत केसी, लायन्स क्लब अफ दाङका निवर्तमान सचिव विजय गिरी, सदस्यहरू प्रमिला तिवारी, आशिष गुप्ता, विष्णु पोख्रेल लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा विद्यालयमा अध्ययनरत १०६ जना विद्यार्थी भाइबहिनीहरूलाई खिर खुवाउनुका साथै ६० दर्जन कपि र ६० दर्जन कलम र वर्णनमाला किताब र भलिवल १ थान फुटबल १ गरी शैक्षिक सामग्री वितरण गरिएको थियो। विद्यार्थीहरूलाई पोषणयुक्त खाना तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गोरख बहादुर ओलीले जानकारी दिनुभएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीको शैक्षिक विकाससँगै स्वास्थ्य र पोषणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै सामाजिक संघ–संस्थाहरूले विद्यालय तथा विद्यार्थी केन्द्रित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ दाङका सहसचिव माधव पोख्रेलले गर्नुभएको थियो।