दंगीशरणमा ५० प्रतिशत अनुदानमा कृषि यन्त्रीकरणका सामाग्री वितरण

दंगीशरण, १ जेठ ।
दाङको दंगीशरण गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानहरुलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा ६३ लाख बराबरका कृषि यन्त्रीकरणका सामाग्री वितरण गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्विकृत वार्षिक कार्यक्रम अनुसार नेपाल महिला सेवा केन्द्रको आयोजना,दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा ६३ लाख बरावरको कृषि यन्त्रीकरणका सामाग्री वितरण गरेको हो । गाउँपालिकाले इभिडिङ मार्फत खरीदगरी कृषि यन्त्रीकरणका सामाग्री वितरण गरीएको गाउँपालिकाले बताएको छ ।

कृषि यन्त्रीकरणका सामाग्री वितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले कुनैपनि वस्तु निःशुल्क वितरण गर्दा किसानको अपनत्व नहुने हुदा आफुहरुले किसानलाई केहि सहयोग पुगोस भन्ने उदेश्यका साथ ५० प्रतिशत अनुदानमा सामाग्री गरीएको बताएका छन् । पालिकाबाट लगिएका कृषि यन्त्रीकरणका औजारहरुको सहि सदुपयोग नभए त्यस्ता फर्म, समुहरुलाई कालो सुचिमा राखिने अध्यक्ष गिरीले बताए । दंगीशरण गाउँपालिका कृषिमा निर्भर गाउँपालिका रहेकाले किसानहरुलाई रासायनिक मलको विकल्पमा जैविक मलको उद्योग स्थापनाको लागि सोच अगाडि बढाइएको बताए ।


औजार वितरण अबसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले वास्तविक किसानहरुका लागि औजारको सहि सदुपयोग गरिदिन आग्रह गरीन ।औजार वितरणका लागि माग गरीएको निवेदन विनियोजित बजेट भन्दा धेरै माग गरीएकाले अहिले प्राप्त नगरेका किसानहरुलाई आउदो आर्थिक वर्षमा प्राथमिकता दिइने उपाध्यक्ष खड्काले बताइन । यस्तै उपाध्यक्ष खड्काले पालिकाले अनुदानमा दिएका सामाग्रीलाई सामुहिक रुपमा प्रयोग गर्ने बानिको विकास गर्न आग्रह गरीन ।

गाउँपालिकाले कृषकहरुलाई लाभ मिल्ने गरी कृषि औजार वितरण गरेकोमा देवकोटा बहुउदेश्य कृषि फर्मका संचालक शुसिल देवकोटाले खुसि ब्यक्त गरे ।किसानहरुको मागका आधारमा कृषि यन्त्रीकरण सामाग्रीहरु मिनि ट्रेलर ४२ वटा,पावर ट्रेलर ४ वटा,रिपर ४ वटा ,चापकटर १४ वटा,पम्पसेट ६ वटा,बेट्रीवाला स्प्रे ११९ वटा ,२ एचपि को पानीभित्र डुबाउने मोटर ५३ वटा,३ एचपि को पानिभित्र डुबाउने मोटर ६ वटा,३ एचपि को पानी बाहिर डुबाउने मोटर ५ वटा, २ एचपि पानी बाहिर डुबाउने मोटर ११ वटा वितरण गरीएको हो ।

कृषि औजार वितरणमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपाली,कृषि साखा प्रमुख शरु भुषाल,कृषि अधिकृत मान बहादुर डाङ्गी,श्रीयासा आचार्य,हेफर प्रोजेक्टकी गोमा भट्टराई लगायतको सहभागिता रहेको थियो ।