गाउँपालिकाद्वारा बजार अनुगमन

निराश पान्डे
चिराघाट, ५ कार्त्तिक ।
शान्तिनगर गाउँपालिकाले शुक्रबार बजार अनुगमनको शुभारम्भ गरेको छ। गाउँपालिकाले शान्तिनगर वडा नम्बर ४ को जुम्लेकुला वडा नम्बर २ को बाघमारे सिमसुन्दरपुर र त्यसै गरि वडा नम्बर १ को खिलतपुरमा रहेका पसलहरुमा अनुगमन गरेको छ।

नेपालीहरुको दोस्रो महान चाड तिहार आउनु अगाडि गाउँपालिकाले अनुगमनको कार्यलाई अगाडि बढाइएको जनाइएको छ। अनुगमनको क्रममा पसलहरु दर्ता बिना संचालन गरिएको र म्याद सकिएका सामानहरु फेला पारेको छ। साथै अनुगमन टोलिले एउटै पसलमा विभिन्न थरिका सामानहरु बेच्ने गरेको जनाएको छ।


गाउँपालिकाकी उपाध्यक्ष प्रेमा के सि बुढाथोकीको संयोजकत्वमा खटिएको अनुगमन टोलिले उक्त स्थानमा रहेका किराना पसल, कस्मेटिक पसल, होटेल, फेन्सी, ब्युटी पार्लर, हार्ड वयर, मेडिकल र एग्रोभेट पसलहरुमा अनुगमन गरेको छ। अनुगमन टोलिले पसल संचालकहरुलाई विधि र प्रक्रियामा आइ पसल संचालन गर्न एक महिने समय अवधि समेत दिएको छ ।

उक्त समय अवधि भरमा पनि दर्ता नगरी संचालन गरेमा कारबाही गर्ने जनाएको छ। अनुगमन टोलिले शुक्रबार अनुगमन क्रममा फेला पारेका विभिन्न वस्तुहरुलाई मुचुल्का बनाइ नष्ट गरिने समेत जनाएको छ। पहिलो दिनको अनुगमन टोलिमा गाउँपालिकाकी उपाध्यक्ष प्रेमा के सि बुढाथोकी , प्रमुख प्रशासकिय अधिकृत डिल्ली खडका, प्रशासन प्रमुख कृष्ण कंडेल, पत्रकार निराश पान्डे, उद्योग वाणिज्य संघ शान्तिनगर शाखाका अध्यक्ष ज्ञानेन्द्र राज शर्मा र प्रहरी चौकी चिराघाटका प्रतिनिधिको सहभागिता रहेको थियो । अनुगमन आइतबार पनि जारी रहने गाउँ पालिकाले जनाएको छ।