माओवादी केन्द्रले समानुपातिक सुचीबाट हटायो महराको नाम

दाङ, १७ असोज ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिक सुचिबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाएको छ ।नेता महराकै आग्रहमा माओवादीले समानुपातिक सुचिबाट नाम हटाएको हो । माओवादीले निर्वाचन आयोगमा समानुपातिकको सुचिमा महराको नाम १ नं. मा राखेर सिफारिस गरेको थियो ।

रोल्पा, दाङ क्षेत्र नं. १ र क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो । ‘मैले संसदीय निर्वाचनमा धेरै पटक जितिसकेको छु, अब नयाँलाई अवसर दिनुपर्छ भनेर त्याग गरे’, महराले भने, ‘अब नयाँलाई अवसर दिनुपर्छ भनेर मैले त्याग गरेको हुँ, हामीले अहिले त्याग नगर्ने हो भने नयाँले कहिले अवसर पाउने ?’


उनी २०७४ सालमा दाङ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन् । महरा २०४८ , २०७० सालमा रोल्पा र २०७४ मा दाङबाट निर्वाचित भएका थिए ।