तुलसीपुर, ७ असोज ।
वर्षायाममा आएको पहिरोको कारण अवरुद्ध रहेको बिजौरी दहवन सडकखण्ड दशै अगावै खोलिने भएको छ । तुलसीपुर उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाका प्रमुखबीच भएको छलफल पश्चात् अवरुद्ध सडक सञ्चालनका लागि दुवै पालिकाले आफ्ना यान्त्रिक साधनहरु प्रयोग गरेर सञ्चालनमा ल्याइने भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाभित्र पर्ने सडक खण्डमा आएको पहिरो तुलसीपुरले हटाउने भएको छ भने रुन्टीगढी क्षेत्रमा आएको पहिरो रुन्टीगढीले हटाउने भएको छ । छलफलका क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पालिकाभित्र पर्ने सुंगुर खोलामा पालिकाकै बजेटमा संरचना निर्माण गरेर बाह्रै महिना सडक सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले वर्षायाममा सबैभन्दा बढी जोखिम रहेको रानीबास क्षेत्रमा पुल निमार्णका लागि पालिकाको तर्फबाट पुल निर्माणका लागि प्राविधिक सर्वे गरिएको बताउनुभयो । उहाँले अन्तरपालिका छलफल गरेर दुधरास छिल्लीकोट डुब्रिङ सडक, बिजौरी श्रीचौर दहवन सडक सञ्चालन र त्यस क्षेत्रमा भएका कृषिजन्य वस्तुको बजारीकरणमा सहयोग आदान प्रदान गर्न सकिने बताउनुभयो ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले सडक क्षेत्रमा पुल निर्माण गर्नका लागि पुलको डिटेल सर्वे गरेर प्रदेश संघ सरकारमार्फत् माग गर्नका लागि दुवै पालिकाका नेतृत्वको अग्रसरतामा मात्रै सम्भव हुने बताउनुभयो । उहाँले अन्तरपालिका छलफलबाट यस क्षेत्रको सडक,कृषि,पर्यटन क्षेत्रको विकास विस्तारका लागि सहयोग पुग्ने बताउनुभयो ।
बिजौरी होलेरी दहवन सडक खण्डले तिन वटा जिल्लालाई जोड्ने गर्दछ ।
दाङको तुलसीपुर उपमहानगरपालिका,सल्यानको कपुरकोट गाउँपालिका र सल्यानको कपुरकोट गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने गर्दछ । ,बिजौरी हुँदै दहवन सडक खण्डको दुरी २८ किलोमिटर मात्रै रहेको छ । यस सडकबाट बाह्रै महिना सञ्चालनमा आउँदा रुन्टीगढी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरणमा टेवा पुग्ने स्थानीय शिक्षक भरत केसीले बताउनुभयो ।
लाइभदाङ । ७ आश्विन २०७९, शुक्रबार १०:५७ बजे