धुनमा गीत बनेका गायक राई

तुफानबाबु श्रेष्ठ
दाङ, ३१ भदौ ।
तिमी धून बन म गीत गाउँछु
तिमी ताल देउ म सुर बन्छु संगीतको
सातै स्वरले सुन्दर तिम्रो मन सजाउँला
रागको रंगोलीले हाम्रो जीवन रंगाउँला।
मन साटेपछी अनि मुटु गाँसेपछी धुन र गीतका कुरा आउँछन् । जुन र तारा फुल र पातका कुरा आउँछन् । मायामा डुबेपछी मनमा अनेक रोमाञ्चक परिकल्पनाहरु तैरिरहन्छन् । यस्तै मन आनन्दित बनाउने प्रेमिल परिकल्पनाहरुलाई स्वर र संगितमा मिसाएर ल्याएका छन् युवा गायक चेतन राईले ।

सल्यानको माटोमा संगितको बाँसना पहिचान गरेका राईले गीतमार्फत सबै नेपालीमाझ सुन्दर वासना छरेका छन् । नेपाली सुगम संगितमा एउटा तारा राईले मायाले मन दुखाउने होइन जीवन रङ्गाउने कुरालाई जोड दिएका छन् ।

गायन,संगित र रचना तिनै विधामा गायक राई यो गीतमा उत्तिकै जमेका छन् । मुटुको अन्तिम गहिराईबाट निकालिएका मोतिदाना जस्ता शब्दले सबैको मनलाई उत्तिकै गहिरोसँग स्पर्श गर्छ ।

गायनको पछिल्लो श्रृंखलासंग जोडिएको उनको यो गीत नेपाली सुगम संगीतका लागि बलियो ईटा बनेर जोडियो नै त्यो भन्दा अँझ स्वयं चेतनको गायनको एक अब्बल सिर्जना बन्न सक्छ। किनभने समर्पणबिनाको जीवन अत्यास लाग्दो र निराशाले भरिएको हुन्छ।


त्यसैले त्यो अवस्थालाई आउनै नदिन उनले यो गीतबाट मार्मिक भाव प्रस्तुत गरेका छन् र कहरुवा तालमा मीठो, कर्णप्रिय स्वर भरिदिएका छन्। सेकाई इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको यो युगल गीतमा चेतन राईलाई अस्मिता अधिकारीले साथ दिएकी छिन्।

गीतको लेखन तथा संगीत चेतनको नै हो। गीतलाई मनोज थापा मगरले एरेन्ज गरेका छन्। मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको उक्त गीतलाई रेकर्डिष्ट राजेश श्रेष्ठले ए वान म्युजिसियन स्टूरडियोमा रेकर्ड गरेका हुन्। भिडियोमा प्रियंका चौधरी र सागर खनालको अभिनय रहेको छ। भिडियो निर्माणको क्रममा दीया रिजालको श्रृंगार रह्यो भने उत्पादक म्यानेजर विक्रम तामाङ हुन्।

सौगात धिताल र अनिल कटवालले ड्रोन चलाएको गीतको भिडियोलाई संपादन तथा निर्देशन फराज अर्पणले गरेका हुन्। प्राविधिक पक्षतर्फ विशाल राईको योगदान रहेको यो गीतलाई निर्माण पक्षले हेरेर, सुनेर नेपाली कलाकारको हौसला बढाई दिन र प्रतिक्रिया दिन आग्रह गरेको छ।