टरिगाउँ एयरपोर्ट राजनीतिक अखडा

दाङमा राजनीतिबृतमा चर्चा हुने क्षेत्रको–एयरपोर्ट । दाङमा ऐतिहासिक एयरपोर्ट टरिगाउँमा छ । तर, त्यो विमानस्थल नियमित सूचारु हुन सकेको छैन । अनियमि हुँँदा दाङसहित पहाडी जिल्लाका यात्रुहरु कि त भैरहवा, कि त नेपालगञ्ज जानुपर्ने बाध्यता छ । टरिगाउँ एयरपोर्टमा अहिले १९ सिटे टुइनेटर मात्रै चल्छन् । त्यो हुँदा भाडा पनि १० हजार भन्दा बढि हुन्छ । त्यसले गर्दा सामान्य मानिशले भाडा तिरेर जान सक्ने अबस्था पनि छैन । भाडा पनि सस्तो र नियमित उडान भर्नकालागि ७२ सिटे जहाज ल्याउन सक्ने गरि धावन मार्ग विस्तार गर्नुपर्छ ।

हाल ७५० मिटर मात्रै लम्बाइ रहेको धावन मार्ग छ । त्यसलाई बढाएर १५०० मिटर लम्बाइको धावन मार्ग बनाएमा त्यहाँ ठूला जहाजहरु अवतरण गर्न सक्छन्, र नियमित उडान पनि हुन्छ । अहिलेको राजनीति पनि यहीमा अडिएको छ । स्थानीय पनि जग्गा दिन तयार छन् । केही सरकारी जग्गा पनि छ । तर, एकथरि नारायणपुर अन्तराष्ट्रिय विमानस्थल निर्माणको अभियानमा जुटेका छन् । तुलसीपुरको विमानस्थल विस्तार गर्न नसकिने भन्दै यसको विकल्प खोज्नु पर्ने तर्क राख्दै आएका छन, भने कोही भने ऐतिहासिक भएकाले टरिगाउँकै विमानस्थललाई विस्तार गरि सञ्चालनमा ल्याउनु पर्ने तर्क गरिरहेका छन् । यही बीचको पेरिफेरीमा चुनाबी मसला बन्ने गरेको छ, सोही विमानस्थल ।


राजनीतिक चपेटाको प्रभाब कर्मचारीतन्त्रमा परेको छ । एकथरिले प्राबिधिकले टरिगाउँ एयरपोर्ट विस्तार गर्न नसकिने भनि प्रतिवेदन निकाल्छन्, भने अर्कोथरि विस्तार गर्न सकिने प्रसस्त सम्भावना रहेको प्रतिबेदन निकाल्छन् । केही समय अघि मात्रै क्यानले निकालेको प्रतिबेदन अनुसार ४ वटा विकल्पमा एयरपोर्ट विस्तार गर्न सकिने कुरा गरेपछि तुलसीपुर क्षेत्रमा केही ‘होप’ बढेको देखिन्छ । त्यसैलाई टेकेर तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले पहल लिएको देखिन्छ । तर, यो संघीय सरकारको क्षेत्राधिकार भित्र पर्ने भएकाले उपमहानगरपालिकाले अनुरोध मात्रै गर्ने हो । काम गर्ने पूर्ण अधिकार केन्द्रलाई नै छ । यही क्षेत्रका मुख्यमन्त्री र अर्थमन्त्री भएकाले यसलाई प्रदेशले पनि चासो दिएपनि क्षेत्राधिकार नपर्दा प्रदेशले पनि चालु बजेटकालागि केही गर्न सकेन् । संघको भर पर्दा प्रदेशले अहिले बजेट नहालेको भएपनि आगामी बर्षको बजेटमा समावेश गर्नकालागि क्षेत्राधिकारी ल्याउने गरि पहल थाल्ने कुरा अर्थमन्त्री धनबहादुर मास्कीले सार्वजनिक कार्यक्रममै बोल्दै आउनु भएको छ ।

धेरै नेतृत्वहरु एयरपोर्टमा आउने तर, अनुगमन मात्रै गर्ने कार्यले गर्दा धेरैले विस्तारमा आशा मार्नु पनि स्वभाविकै हो । त्यसमा राजनीतिक नेतृत्वको मात्रै नभई कर्मचारी तथा प्राबिधिकहरुको पनि उत्तिकै बदमासी देखिन्छ । प्राबिधिकहरुले यो वा त्यो बाहानामा कहिल्यै बन्छ भन्ने, कहिल्यै बन्दैन भन्ने कुराले गर्दा राजनीतिक नेतृत्वलाई पनि अल्मल्याई रहेको छ । यस तर्फ पनि बुझाई राखेर त्यो अनुसारको पहल लिन तथा जनदवाव दिन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक