डिल्ली चौधरीले स्थायी राजधानी भालुवाङ सार्न दिएन भनेर भ्रम छरियो :मन्त्री चौधरी

तुलसीपुर
२५ भदौ / लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले आफू प्रदेशको स्थायी राजधानी भालुवाङ सार्ने कुराको विरुद्धमा नरहेको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको प्रशासनिक भवन सिलन्यास तथा विश्व प्राथमिक उपचार दिवस एवं विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज तुलसीपुरमा आयोजित कार्यक्रममा उनले स्थायी राजधानी भालुवाङ सार्ने विषयको विरुद्धमा रहेको भनि भ्रम फैलाएको समेत बताए ।‘

काँग्रेसले स्थायी राजधानी बुटवल बनाउन ह्वीप जारी गरेको थियो, तर मैले त्यो ह्वीप नमानेर दाङको पक्षमा मतदान गरे, त्यतिबेला मेरो संसद पद पनि जान सक्थ्यो’,उनले भने‘तर, मैले सांसद पदको नै माया मारेर भालुवाङमा मतदान गरे ।’
तर, अहिले सार्न दिएको छैन, भनी गरिएको प्रचार गलत भएको उनले बताए । उनले अहिले भालुवाङमा संरचना निर्माण भइरहेको भन्दै छिट्टै भालुवाङ सर्ने बताए ।


साथै उनले राजधानी भालुवाङ ल्याउन नदिन एउटा ठेकेदार संघका अध्यक्षले नै मुद्दा दायर गरेको समेत स्पस्ट पारे ।
रेडक्रसका जिल्ला सभापति नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उनले रेडक्रसको भवनकालागि २० लाख रुपैँया ब्यबस्थापन गर्ने प्रतिबद्धता समेत जनाए । त्यस अवसरमा नागरिक समाज दाङका पूर्वसभापति टिकाराम रेग्मी, तुलसीपुर ७ का वडाध्यक्ष रामबहादुर जीसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए। रेडक्रसका जिल्ला सदस्य हरिहस पौडेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण रेडक्रसका मन्त्री प्रकाश श्रीवन्दले गरेका थिए ।