
देउखुरी,२९ बैशाख ।
दाङ – देउखुरीमा श्रीमान श्रीमतीबीच भएको घरेलु विवाद उग्र बन्दै जाँदा दुवै जना घाइते भएका छन् । गढवा गाउँपालिका ८ खबरी निवासी ४१ वर्षीया उर्मिला बुढा र उनका श्रीमान मिलन कुमार बुढाबीच मादक पदार्थ सेवनपछि उत्पन्न भएको सामान्य विवादले उग्र रूप लिँदा एकआपसमै कुटपिट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
प्रहरीका अनुसार हिजो राति घरायसी विषयमा भनाभन सुरु भएको थियो । मादक पदार्थ सेवन गरेका कारण विवाद झन चर्किएको र त्यसपछि दुवै जनाबीच हात हालाहालको अवस्था सिर्जना भएको बताइएको छ । झगडाका क्रममा मिलन कुमार बुढाले दाउराको चिर्पटले प्रहार गर्दा उर्मिला बुढाको टाउकोमा गहिरो चोट लागेको र श्रीमतीले उर्मिलाले पनि आक्रमण गरि मिलनको हातमा चोट पुर्याएको प्रहरीले जनाएको छ।
घटनामा श्रीमान मिलन कुमार बुढा पनि घाइते भएका छन् । स्थानीयवासीले घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल लगिएको थियो । लमही अस्पतालमा प्राथमिक उपचारपछि उनीहरूको अवस्था थप उपचार आवश्यक देखिएकाले दुवै जनालाई घोराहीस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरीले जानकारी दिएको छ ।



लाइभदाङ । २९ बैशाख २०८३, मंगलवार ०९:११ बजे