सुकिए आशु तर श्रीमान भेटिएनन्

दाङ,१५ भदौ ।
झण्डै २० बर्षदेखि बेपत्ता पारिएका पतिको सास की लाश चाहियो भन्दै यसपटक पनि भमके दाङकी लुमा गैरेले माग गर्नुभएको छ । बेपत्ता पारिएका ब्यक्तिहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा तुलसीपुरमा आयोजना गरेको जान्न पाउने अधिकार बिषयक कार्यक्रममा सहभागि गैरेले २०५९ सालदेखि बेपत्ता पारिएका पतिको खोजी गर्ने र आशु र्झनु दैनिक नै भएको बताउनुभयो । आशु सुके पति फेला पार्न राज्यले सकेन उहाँले भन्नुभयो । मेरा पतिको राज्य पक्षबाट बेपत्ता पारिएको हो ।

६ महिनासम्म मानसिक रुपमा बिक्षीप्त अबस्थामै हरेक निकायमा गुहार मागे तर श्रीमानको भौतिक शरिर पाईने,उहाँले भन्नुभयो । पछिल्लो अबस्थामा १० लाख भने सरकारले राहत स्वरुप दिएको भने बताउनुभयो ।

पति लेबहादुर बिष्ट बेपत्ता भएको पनि २० बर्ष बढि भयो, तुलसीपुर जवधवाकी ज्ञानु बिष्टको भनाई छ । ११ बर्षको छोरो ३१ बर्षको भयो,वुवा नहुदाको टुहुरो छोरो बेरोजगार छ,उहाँले भन्नुभयो ।

तुलसीपुर १२ की टिका डाँगीको स्वर कम्पन्नका साथ भन्नुभयो, पोखरामा इन्जिनियर पढदै गरेको छोरो बेपत्ता भएको दुई दशक बढि भयो,मेरो छोरो लाश पनि पाईएन,सास पनि छैन ।

बेपत्ता परिवारका चन्दा योगी,ओबिन्द्र डाँगी,अनीता चौधरी लगायतले आफुहरु बेपत्ता भएका सदस्य फर्कन्छन कि भनेर मनले खोजी रहने बताउनुभयो ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बेपत्ता परिवारका लागि तुलसीपुर उपमहानगरपालिकाकाले स्वास्थ्य तथा शिक्षा सेवा सहजरुपमा उपलब्ध गराउदै आएको बताउनुभयो । उपप्रमुख स्यानी चौधरीले राप्ती प्रादेशिक अस्पताल,मेट्रो हस्पीटल र मेट्रो कलेज लगायतबाट सुबिधा दिने ब्यबस्था मिलाईएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता माधव वलीले द्धन्द पीडितहरु संगठित भई दवाव सृजना गर्नुपर्ने सुझाब दिनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति एबम संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत,नागरिक समाज दाङका सल्लाहाकार टिकाराम रेग्मी,केशवकुमार शर्माले स्थानीय सरकारले स्थानीय तहका द्धन्द पीडित परिवारका लागि बिशेष कार्यक्रम ल्याउन सुझाब दिनुभयो ।

कार्यक्रममा ३० जना बढि बेपत्ता परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो भने दाङमा करिव ८१ जना बेपत्ता भएको तथ्यांक रहेको छ ।

नेपाल रेडक्रस सोसाईटि दाङका सभापति नारायण आचार्यको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य शान्तिनगर उपशाखाका बिमल केसीले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण रेडक्रस दाङका मन्त्री प्रकाश श्रीबन्दले गर्नुभएको थियो ।