दाङका दुई उपमहानगरले दिए अट्वारीको विदा

तुलसीपुर,१० भदौ ।
दाङका दुई उपमहानगरपालिकाले अट्वारीको अवसरमा विदा दिएका छन् । घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाले अट्वारीको अवसरमा विदा दिएका हुन् । थारु समुदायले भदौ शुक्लपक्षको पहिलो आईतबार अट्वारी मनाउने भएकाले त्यो दिनलाई विदा दिईएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गरि उपमहानगरपालिका भित्र स्थायी विदा दिएको हो ।

साथै घोराही उपमहानगरपालिकाले पनि शुक्रबार सूचना जारी गर्दै अट्वाीको विदा दिएको थियो । दाङ थारु बाहुल्यता भएको जिल्ला हो । थारु समुदायको दसैंपछिको ठूलो चाडका रुपमा मनाउने गर्छन् ।

अट्वारीमा चेलिबेटीको सम्मान गर्ने, सूर्य उपासनासँग जोडिएका भगवानहरुको पूजा र शक्तिशाली बलवान भीमको पूजा गर्ने चलन छ । यस पर्वमा मन प्रशन्न रहने, पारिवारिक समृद्धि हासिल हुने मान्यता छ । अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । व्रत बसेका व्रतालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन छ । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ।


अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् ।