लुम्बिनीमा माघ ३ भित्र सभामुख र उपसभामुख चयन हुँदै

दाङ,१८ पुस । प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । सोमबार बसेको पहिलो बैठकले उक्त नियमावली पारीत गरेको हो । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो । नियमालवी पारित भएसंग अब यही नियमावलीको आधारमा प्रदेश सभाले आफ्ना गतिविधि अघि बढाउनेछ । यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको हो ।

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ। पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका जेष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोक्नु भएको हो । अब सभामुख र उपसभामुख चयनको लागि प्रदेश सभामा बाटो खुलेको छ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअन्तर्गत राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।


निजामति ऐन पारित नहुँदा समस्या ः प्रदेश प्रमुख
लुम्बिनी प्रदेशको दोस्रो सभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले निजामति सेवा ऐन पारित नहुँदा कार्य सम्पादनमा जटिलता देखिएको बताउनुभयो ।

उहाँले संघीय निजामति सेवा ऐन नआउँदा प्रदेश नेजामति सेवा ऐन पारित गरि कार्यान्वयन गर्न जटिलता थपिएको बताउनुभयो । जसले गर्दा जनशक्ति ब्यबस्थापनको समस्या बढेको बताउनुभयो ।