भालुबाङमा प्रदेश स्वास्थ्य निर्देशनालय स्थापना

देउखुरी, ९ भदौ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भालुबाङमा स्वास्थ्य निर्देशनालय स्थापना गरेको छ । राप्ती गाउँपालिका वडा नं. १ को कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो । वडा कार्यालयलाई अन्य भवनमा व्यवस्थापन गरेर स्वास्थ्य निर्देशनालयको सेवा सुरु गरिएको हो ।

स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले निर्देशनालयको उद्घाटन गर्नु भएको छ । राजधानी कार्यान्वयनको क्रममा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको जानकारी दिनुभयो । जनस्तरबाट प्रदेशका संरचना स्थापना र कार्य सञ्चालनको लागी सहयोग आवश्यक पर्ने उहाँले बताउनु भयो ।

‘स्थायी राजधानी कार्यान्वयनको चरणमा छौं । अन्य कार्यालयहरु पनि आउछन्’उहाँले भन्नुभयो–‘प्रदेश राजधानी कार्यान्वयन हाम्रो पहिलो प्राथमिकता छ । त्यही भएर यसमा हामीले बेसी ध्यान दिएका छौं ।’ यस अघि सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको थियो ।

मन्त्रालय र निर्देशनालय मिलेर प्रदेशभरी स्वास्थ्य सेवा प्रवाहको लागी काम गरिने स्वास्थ्य सचिव विकास देवकोटाले बताउनु भयो ।‘मन्त्रालय स्थापना गर्न पनि निकै साथ सहयोग मिल्यो । अहिले निर्देशनालयको काममा पनि समुदायस्तरबाट प्राप्त भएको सहयोग ठुलो रह्यो’उहाँले भन्नुभयो–‘सरकारले राजधानी कार्यान्वयनलाई ध्यान दिदै मन्त्रालय र बिषयगत कार्यालयहरु स्थानान्तरण गरिरहेको यहाँहरुलाई जानकारीनै छ ।’


मुख्यमन्त्री तथा मन्त्रीपरिषद, अन्य मन्त्रालयहरु पनि बुटवलमा भएकाले स्वास्थ्यमन्त्रालय केही समय सुनसान जस्तै बन्यो । पछी मन्त्री र सचिवहरु मन्त्रालयमा बस्न थालेपछी अहिले सिसहनियाबाट मन्त्रालयको कामकाज भइरहेको छ । वडा नं. १ को कार्यालय भवन निर्देशनालयको कार्यालय सञ्चालन गर्न दिएर वडा कार्यालय भाडाको घरमा सारिएको वडा अध्यक्ष गेमबहादुर खड्काले जानकारी दिनुभयो ।

‘राजधानी कार्यान्वयनमा हाम्रो पनि दायित्व र जिम्मेवारी रहनुपर्छ । त्यही भएर हामी बसेको कार्यालय स्वास्थ्य निर्देशनालयलाई दिएका हौं’वडा अध्यक्ष खड्काले भन्नुभयो–‘राजधानी संग जोडिएका मन्त्रालय र अन्य कार्यालयहरुलाई स्वागत गर्न र तिनको व्यवस्थापनमा जुट्न हामी तयार छौं ।’

स्वास्थ्य मन्त्रालय पनि वडा कार्यालयको भवनमा स्थापना भएको हो । राप्ती गाउँपालिका वडा नं. ५ को कार्यालयमा स्वास्थ्य मन्त्रालय छ । वडा कार्यालय नजिककै भाडाको घरमा सरेको छ ।‘मन्त्रालयको आफ्नै भवन नबन्दा सम्म हामी भाडाको घरमा बस्न तयार छौं’वडा अध्यक्ष देवप्रसाद चौधरीले भन्नुभयो।