दाङ,७ भदौ ।
विप्लवसहित चार राजनीतिक दलको बन्दको अवसर पारेर दाङमा एक टिप्पपरका साहुजीले आफ्नै गाडी जलाएको खुलेको छ । चालक र सहचालकको सहयोगमा मंगलबार विहान पौने ५ बजेतिर घोराही–लमही सडक खण्डको घोराही–३ स्थित कुइरेपानी स्थित बबई पुल नजिक आगजनी गरिएको छ ।
चार राजनीतिक दलले विहान ५ बजेदेखि साँझ ५ बजेसम्म बन्दको आह्वान गरेका थिए । तर, घरमा थन्काएको उक्त टिप्परलाई त्यहाँ लगेर पौने पाँच बजेतिर आगजनी गरिएको थियो । त्यो घटना शंकास्पद भएपछि प्रहरीले चालक ३२ बर्षीय अरुण चौधरी र सहचालक २६ बर्षीय आकाश चौधरीलाई पक्राउ गरेको थियो ।
उनीहरुलाइ सोधपुछ पछि थप शंकास्पद भएको भन्दै टिप्परका मालिक घोराही १४ नवलपुरका ४१ बर्षीय धनेश्वर भण्डारीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए ।‘बीमाकालागि साहुजीकै सहमतिमा चालक र सहचालकले टिप्परमा आगो लगाएको देखिन्छ’,उनले भने‘यसमा हामीले अनुसन्धान गरिरहेका छौं ।’ गाडी पनि पुरानो रहेको छ । रा १ ख १६९४ नम्बरको टिप्पर रहेकाले करिब ८/९ लट पुरानो हुन सक्ने प्रहरीको भनाई छ ।
आगजनी हुँदा गाडीको अगाडीको भाग जलेको छ । विप्लव निकट नेकपा दाङका सेक्रेटरी प्रदिप वलीले पनि विहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्रै बन्दको घोषणा गरेकाले घोषणा गरेको समय भन्दा बाहिर भएका घटनाको आफूले जिम्मा नलिने बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यो घटनामा बन्दकर्ताको नाम जोडेको प्रति आपत्ति समेत जनाएका छन् ।
सरकारले तीन बुँदे राजनीतिक सहमति विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकाले बन्दको घोषणा गरिएको थियो । साथै एमसीसी, भ्रष्टाचार, महंगीका विरुद्ध पनि बन्दको आह्वान गरिएको हो । त्यस्तै प्रहरीले दाङबाट बन्दको नाममा उच्छृङ्खल गतिबिधि गरेको भन्दै १५ जनालाई नियन्त्रणमा लिएको छ । लमहीबाट ७ तथा घोराही र तुलसीपुरबाट ४/४ जनालाई पक्राउ गरेको छ ।
लाइभदाङ । ७ भाद्र २०७९, मंगलवार १३:०० बजे