चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

काठमाडौं, ६ भदौ ।
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने प्रस्ताव गरेको छ। सोमबार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताए।

चुनावमा मतदातालाई अनेकौँ प्रलोभन पार्ने तथा निर्वाचन लड्न कठिन भएको सांसदहरूकै गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचारप्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको उनले उल्लेख गरे। उनले भने, ‘निर्वाचनमा खर्च धेरै भयो। उम्मेदवार भए पनि निर्वाचन लड्न समस्या भयो भन्ने भनाइलाई मनन गरेर २५ जनासम्म भेला भएर प्रसारप्रसार गर्नुपर्ने आयोगको घारणा हो।’


निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि उनले बताए। प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको विषयमा सबै राजनीतिक दलको मिश्रित सल्लाह–सुझाव आएको जानकारी दिँदै सबै सुझावलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको उल्लेख गरे।