तुलसीपुरको फुटपाथ ब्यबसाय नियन्त्रणमा

तुलसीपुर
५ भदौ / तुलसीपुर उपमहानगरपालिकाले सडक फुटपाथमा ब्यबसाय गर्ने ठेला तथा फुटपाथलाई नियन्त्रणमा लिएको छ । आईतबार बजारका बिभिन्न स्थानबाट ठेला तथा फुटपाथब्यबसायलाई नियन्त्रणमा लिएको हो ।

जनप्रतिनिधि, सुरक्षाकर्मी,कर्मचारी तथा सरोकारवाला निकायको सक्रियतामा फुटपाथ ब्यबसायीलाई नियन्त्रणमा लिईएको हो । तुलसीपुरको वडा नं. ५ र ६ मा पर्ने बिभिन्न स्थानमामा छापा हानेर नियन्त्रणमा लिइएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडासदस्य भिमबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार पटक–पटक सडक मिचेर फुटपाथ ब्यबसाय गर्नेहरुलाई ध्यानाकर्षण गराएको भएपनि अटेरी गरेपछि यस्तो कदम चाल्नु परेको हो ।“हामीले केही दिन अघि देखि नै फुटपाथ गर्नेहरुलाई माइकिङ गरेर र अरु माध्यामबाट पनि ध्यानाकर्षण गराउँदै आएका थियौं”,उहाँले भन्नुभयो“तर, उहाँहरुले अटेरी गरेपछि फुटपाथका सामग्री नै नियन्त्रणमा लिन बाध्य भएका हौं ।”


तुलसीपुरको बसपार्क, घोराही रोड, ‘ख’ लाईन, ‘ग’लाईन, बाहिनी चोकलगायतमा सडक मिचेर मिचेर विक्री गर्न राखिएका आलु, प्याज, लसुन, बोडी, तिते करेला,केरा, पानीपुरी, बन्दागोवीलगायत पेय पदार्थ नियन्त्रणमा लिइएको हो । यस अघि पनि उपमहानगरपालिकाले फुटपाथमा बेचिरहेका आईसक्रिम, कुल्फीलाई नियन्त्रणमा लिएको थियो ।

उपमहानगरपालिकाले विगतदेखि नै फुटपाथ ब्यबसायलाई ब्यबस्थित गर्न खोजेको छ । विगतमा नियन्त्रणमा लिएका फुटपाथका ठेलाहरु पनि अहिले उपमहानगरपालिकाको परिसरमा छन् । तर, फुटपाथ ब्यबसायीको उचित ब्यबस्थापन हुन सकेको छैन । आफूहरुको उचित ब्यबस्थापन गर्नुपर्ने फुटपाथ ब्यबसायीहरुको माग रहेको छ । फुटपाथ ब्यबसायीहरुले गर्दा सवारी दुर्घटना बढिरहेको भन्दै यसो नगर्न उपमहानगरपालिकाले सूचना जारी गरिरहेको छ ।