टरिगाउँ एयरपोर्टः उपमेयरले बैठक बोलाइन्, मेयरले स्थगित गरे

दीपक बोहरा
दाङ,३ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका १२ स्थित टरिगाउँ एयरपोर्टलाई स्तरबृद्धिकालागि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले ब्यापक छलफलकालागि सर्वदलिय बैठक बोलाईन् । त्यो बैठकले एयरपोर्ट स्तरबृद्धिकालागि समिति गठन गर्ने समेत तयारी थियो ।

उपमहानगरपालिकाको बैठक शाखालाई उपमेयर चौधरीले निर्देशन गरेपछि बैठककालागी सबै क्षेत्रलाई खबर गरिएको थियो तर, तत्काल बैठक तत्काल रोकियो । वडाका जनप्र्रतिनिधि, यस क्षेत्रका सरोकारवाला, पत्रकारलगायतलाई त्यो बैठकमा बोलाईएको थियो ।

भदौं १ गतेकालागि बोलाईएको त्यो बैठक स्थगित भएको जानकारी वडाका जनप्रतिनिधिले पाएनन् । त्यसपछि उनीहरु दिउसो ३ बजे भनि तोकिएको समयमै पुगे । तर, त्यहाँ आएपछि मात्रै बैठक स्थगीत भएको जानकारी पाएपछि फर्किएका थिए । स्रोतका अनुसार उपमेयरले एकलौटी गर्न खोजेको भन्दै मेयरको निर्देशनपछि बैठक स्थगित गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेबाट निर्वाचिन हुन् । केही दिन अघि मात्रै तुलसीपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले महासचिब शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट काँग्रेस सरकारको पालामा भएको सर्वेक्षणले स्तरबृद्धि गर्न सम्भव नभएको प्रतिबेदन सार्वजनिक गरेकाले यदि विस्तार सम्भव नभए विकल्प खोज्नु पर्ने बताएका थिए । यस अघिका उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि टरिगाउँ एयरपोर्टलाई सिकाई केन्द्र बनाउनु पर्ने भनि नीति तथा कार्यक्रममै समावेश गरेका थिए । टरिगाउँमा अन्तराष्ट्रिय स्तरको पाइलट सिकाई केन्द्र बनाउने कुरामा उनको जोड थियो ।

तर, उपप्रमुख स्यानी चौधरीले जसरी पनि एयरपोर्ट बन्नु पर्ने भन्दै कसैको दवाव प्रभाबमा नपर्ने बताईन् । चौधरीले मेयरकै कारण त्यो बैठक रोकिएको स्वीकार गर्छिन् ।‘मेयर काठमाडौं जानुछ, भनेर बैठक स्थगित गर्न लगाउनु भएको भन्ने कुरा आएको छ’,उनले भनिन्‘तर, उहाँ काठमाडौं जाने कुनै कार्यक्रम पनि रहेनछ ।’

जनताको कामकै लागि आफूले यो पहल कदमी लिएको भन्दै कसैले रोक्दैमा नरोकिने समेत उनको भनाई छ । ‘बैठक रोकिएपछि मलाई ठूलो पिर लागेको छ’,उनले भनिन्‘तर, यो मेरालागि मात्रै होइन्, जनताकालागि हो, यहाँको एयरपोर्ट बन्दा जनतालाई फाइदा हुन्छ, त्यसैले कसैले रोक्दैमा रोकिदैन, म मेयरसंग कुरा गरेर पुनः तत्काल बैठक बोलाउन भन्छु ।’ एयरपोर्ट विस्तार नहुँदा यहाँका जनताले धेरै दुःख पाएको भन्दै आफूले जिम्मेवारी पाएमा ६ महिनामा एयरपोर्ट विस्तार गरेर देखाउने समेत उनले बताईन् ।‘पैसा नभएपनि काम गर्न सकिन्छ, एयरपोर्ट जनतालाई चाहिने हो, दुःख विरामी हुँदा ५/६ लाख रुपैँया हेलिकप्टरलाई तिरेर जानुपर्छ’,उनले भनिन्‘त्यसैले हामीले पहल लगेमा जनता पनि श्रमदान गर्न तयार हुन्छन्, मैले जिम्मा पाए ६ महिनामा एयरपोर्ट स्तरबृद्धि गरेर देखाउछु ।’ एयरपोर्ट विस्तार गर्नकालागि ६ करोड भए पुग्ने उनको भनाई छ ।


तर, नगरप्रमुख खड्काले उपमहानगरपालिकाले मात्रै चाहेर केही बन्न नसक्ने बताए ।‘हामीले बैठक बोलाएर हुने के हो र?’,उनले भने‘हाम्रो तर्फबाट गर्ने काम गरिरहेका छौं, काठमाडौं गएर मन्त्रीलाई भेट्यौं, बजेट थप्न भनेका छौं, केन्द्र्रबाट बजेट नआउँदासम्म हामीले केही पनि गनै सक्ने अबस्था छैन ।’ बैठक बसाल्ने सन्दर्भमा मेयरसंग समन्वय भने हुनुपर्ने उनको भनाई थियो ।

टरिगाउँ एयरपोर्टका विषय थप पेचिलो बन्दै गएको छ । उपमहानगरपालिकाका उपप्रमुखले बोलाएको बैठक तत्काल स्थगित हुनु र पटक–पटक केन्द्रीय नेतृत्वले एयरपोर्टका विषयमा दिने अभिब्यक्तीले यहाँका नागरिक शसंकित बन्ने गरेका छन् । केही दिन अघि मात्रै एयरपोर्टमा इन्धन डिपोका लागि आएको बाउजर काठमाडौं लैजान थालिएको थियो ।

उपप्रमुखको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेपछि त्यो बाउजर लिने काम रोकिएको थियो । आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख विपिन श्रेष्ठका अनुसार यहाँ आएको बाउजर अलि ठूलो भएको र, सानो बाउजरले पनि काम चल्ने भएकाले यसलाई लगेर सानो ल्याउने गरि केन्द्रले निर्णय गरेको थियो । तर, यहाँको विरोध पछि अब भने यो बाहिर नजाने भएको छ । डिपो निर्माणको काम पनि पूरा भएको र ल्याब परीक्षणकालागि भारत पठाएकाले त्यो आएपछि यस क्षेत्रमा डिपो सञ्चालनको काम अघि बढ्नेछ । डिपो सञ्चालन भएपछि यस क्षेत्रका नागरिकको एउटा माग पूरा हुन्छ । र, अब अर्को माग भनेको यहाँको धावन मार्ग विस्तार नै हो ।

अहिले ७५० मिटर लम्बार र ३० मिटर चौडाई रहेको धावन मार्ग छ । त्यो धावन मार्गलाई विस्तार गरि १५०० मिटर लामो बनाउन सकेमा ठूला जहाज बस्ने र हवाई सेवा नियमित हुने अपेक्षा छ । अहिले भाडा पनि १२ हजार रुपैँयाको हाराहारीमा छ, यो भाडादर पनि घट्ने अपेक्षा गरिएको छ । अहिले १९ सिटे टुइनेटर जहाज मात्रै अवतरण गर्छ । हप्तामा तीन दिन विहीबार, शुक्रबार र शनिबार मात्रै हवाई सेवा सूचारु हुने गरेको छ । २००८ सालमा स्थापना भएको उक्त विमानस्थलमा २०११ सालदेखि हवाई सेवा सुरु भएको हो । यो बीचमा नियमित भने हुन सकेन । कहिल्यै सेवा सुरु हुने र तत्काल बन्द हुने प्रक्रिया लामो समय चल्यो ।

कहिल्यै यस क्षेत्रका उद्योगीहरुको पहलमा सञ्चालनमा आयो भने कहिल्यै स्थानीय सरकारले सञ्चालनमा ल्याउने प्रयास ग¥यो । तर, पनि नियमित बनाउन गाह्रो भयो । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पहलमा हवाई सेवा नियमित छ । अहिले धावन मार्ग विस्तारकालागि तुलसीपुर उद्योग बाणिज्य संघले पहल कदमी अगाडी बढाइरहेको छ । यसमा यस क्षेत्रका राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले पूर्ण रुपमा साथ दिदै आएका छन् ।

उनले पटक–पटक राष्ट्रियसभामा आवाज उठाउँदै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । गएको बर्ष पनि उनले एयरपोर्टको बजेट कम भएको भन्दै सदनमै ध्यानाकर्षण गराएका थिए, भने यस बर्ष पनि बजेट न्यून छुटिएको भन्दै त्यसलाई बढाउन ध्यानाकर्षण गरेका थिए । उनले टरिगाउँ एयरपोर्ट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछिको पुरानो विमानस्थल भएकाले यसलाई नियमित गराउन आबश्यक रहेको बताएका थिए ।