
दाङ, २० मंसिर ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पहिलोपटक ठुलो संख्यामा सिकलसेल एनिमियाको परिक्षण गर्न लागेको छ । शुक्रबार दाङका दस वटै पालिकाका जनप्रतिनिधिहरुसंगको छलफलमा प्रतिष्ठानले यस्तो जानकारी दिएको हो । प्रतिष्ठानमा सिकलसेल जाच्ने मेसिन भित्रीएपछि पहिलो पटक ५ हजार जनामा परिक्षण गर्न लगिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा.श्याम लम्सालले जानकारी दिनु भयो ।
उहाँका अनुसार यो परिक्षण अभियान शनिबारदेखि नै जारी रहने छ । प्रतिष्ठानले करिब सिकलसेल एनिमिया भएका ३ सय १५ जनालाई औषधि उपचार सेवा प्रदान गर्दै आएको छ । जसमा एक बर्षदेखि ६५ बर्ष सम्मकामा सिकलसेल एनिमिया भेटिएका छन भने एकै घरका चार जना परिवारमा पनि सिकलसेल देखीएको छ । धेरैजसो थारु समुदायमा यो रोग फेला परेको छ भने योगि र दलित समुदायमा पनि सिकलसेल देखीएको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा.जनार्दन पन्थिले दाङका १० वटै पालिकाका जनप्रतिनिधिहरुलाई राखेर अबदेखि प्रतिष्ठानमा सिकलसेल एनिमिया रोगको परिक्षण हुने जानकारी दिईएको बताउनु भयो ।
सिकलसेल एनिमिया परिक्षणका लागि बिरामीलाई यसअघि जिल्ला बाहिर जानुपर्ने भएता पनि अब प्रतिष्ठानमा नै चेकजाँच हुने भएपछि बिरामीलाई उपचारमा सहजता हुने उहाँले बताउनु भयो । प्रतिष्ठानका रजिस्ट्रार प्रा। लम्सालले सिकलसेल एनिमिया भए नभएको ५ हजार जना बालबच्चादेखि वृद्धसम्म सबैको चेकजाच गरेर हालको अबस्था बारे जानकारी लिन सकिने र प्रतिष्ठान आफैमा बिश्व बिद्यालय पनि भएकाले भबिष्यमा अध्ययन अनुसन्धान गर्न सहजता हुने बताउनु भयो । साथै उहाँले सिकलसेल एनिमिया रोकथाम र नियन्त्रणको लागि निति तर्जुमा गर्न पनि यो कार्यले सहजता हुने अपेक्षा गर्नु भयो ।
२०७३ सालदेखि नै साविकको राप्ती उपक्षेत्रीय अस्पतालमा सुरू भएको यो कार्यक्रम दाङमा सुरू भएको थियो । त्यो बेला देशभरका स्याम्पलका रूपमा सिकलसेल परीक्षण गर्दा तीन सय ५० जनामा सिकलसेल देखिएकोमा दाङ जिल्लाका मात्रै २६ केश देखिएका थिए । जुन एकदमै गम्भीर अवस्था हो । विशेषगरी थारू समुदाय र आदिबासी जनजातिमा देखिने सिकलसेल दाङमा पनि धेरै हुन सक्ने निष्कर्षसहित सरकारले बेला–बेलामा दाङमा सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र उपचार गर्दै आए पनि यसलाई नियमितता दिन भने सकिएको छैन ।
प्रतिष्ठानका निमित्त निर्देशक प्राध्यापक डा.पन्थीले दाङ जिल्लामा सिकलसेल एनिमियाको परीक्षण कार्यक्रम जिल्लाका तीन स्थानमा सञ्चालन गरिने बताउनु भयो । स्थानीय सरकारसँगको समन्वयमा देउखुरीमा कुनै एक स्थानमा, मध्ये दाङको एउटा स्थान र पश्चिम दाङको एक स्थानमा निःशुल्क रूपमा सिकलसेल एनिमियाको परीक्षण गरिने छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने आइतवारदेखि नै यो सेवा सुरू हुने छ । यो सेवा मङ्सिरदेखि वैशाखसम्म निरन्तर जारी रहने पनि बताइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन ओपिडिमा यो सेवा उपलब्ध हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा.अजयराज गौतमले जानकारी दिनु भयो । यदि कुनै बिरामीमा सिकलसेल एनिमिया पाइएमा एक लाख रूपैयाँसम्मको निःशुल्क औषधी उपचार गरिने पनि प्रतिष्ठानले जनाएको छ । अन्य कुन–कुन स्थानमा हुने भन्ने विषयमा पालिकाले छलफल गरेर आइतवारसम्म स्थान तय गर्ने छन् ।
प्रतिष्ठानका फिजिसियन डा। अजय गौतमले सिकलसेल एनिमिया के हो रु यसको रोकथामका उपाय के–के हुन् रु र यसको उपचार र न्यूनीकरणका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । सिकलसेल एनिमिया एउटा वंशाणुगत रोग भएकाले लक्षित समुदायमा यसको प्रभाव बढी हुन सक्ने भएकाले त्यस्ता समुदायमा परीक्षण, रोकथाम एवम् उपचारात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनु पर्ने पनि डा गौतमको प्रस्तुतीमा उल्लेख थियो । सिकलसेल एनिमिया भइसकेपछि त्यस्ता व्यक्तिका रक्तकोषको आकार हसिया जस्तो हुने पनि चिकित्सकले बताएका छन् ।
जब कोषको आकार परिवर्तन भएर बाङ्गो हुन्छ, त्यसले राम्रोसँग रक्त सञ्चारमा अवरोध ल्याउँछ । यसका कारण रगत नपुगेर कतिपय अङ्गको मृत्यु हुने सम्मको खतरा हुन्छ । यसको उपचार लक्षण अनुसार हुने चिकित्सकले बताएका छन् । पूर्ण रूपमा निको भएर जाने अवस्था भने रहँदैन । सिकलसेल एनिमियामा केही सिकलसेल बाहक हुन्छन् भने केही सिकल सेलका रोगी हुन्छन् । यदि सिकलसेल बाहक र सिकलसेल रोगीका बिचमा विवाह भयो भने उनीहरूबाट जन्मने शिशुलाई पनि सिकलसेल एनिमियाको सम्भावना अत्यधिक हुन्छ । यस्ता जोडिबाट स्वस्थ बच्चा जन्मने सम्भावना २५ प्रतिशत मात्र रहन्छ ।
प्रतिष्ठानका चिकित्सक डा. सविना विश्वकर्माले सिकलसेल एनिमिया तथा थालेसेमिया कार्यक्रमका बारेमा जानकारी गराइन् । नमुना परीक्षणको कार्यक्रम मङ्सिरदेखि वैशाख महिनासम्म निरन्तर रहने पनि उनले जानकारी दिएकी छिन् । डा.सविनाका अनुसार नेपालमा दाङ पनि सिकल सेल एनिमियाको अत्यधिक प्रभावित जिल्ला हो । यद्धपि प्रयाप्त मात्रामा परीक्षण नहुदा अहिलेसम्म यहाँ कति जनामा सिकल सेल एनिमिया छ भन्ने आधिकारिक तथ्याङ्क नभएको पनि बताइन् । यो कार्यक्रम अनुसन्धानसँगै परामर्श र उपचार पनि भएको प्रतिष्ठानले जनाएको छ ।
जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माले दाङ जिल्लामा सिकलसेल एनिमियाको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै यसको अनुसन्धान एवम् परीक्षण र उपचारलाई पनि थप प्रभावकारी बनाउन आग्रह गर्नु भयो । साथै सिकल सेल एनिमियाको विषयमा आम नागरिकलाई जानकारी गराउन स्थानीय सरकारले आफ्ना पाठ्यक्रममा पनि सिकलसेल एनिमियाका विषय समावेश गर्न उहाँको अनुरोध छ ।
दाङ जिल्लामा थारू समुदायको बाहुल्यता भएकाले यहाँ सिकल सेल एनिमियाका बिरामी धेरै हुन सक्ने अनुमानसहित यसको न्यूनीकरण एवम् रोकथामका लागी तीनै तहका सरकार यसमा लागिरहेका छन् । थारू समुदायको बाहुल्यता भएका पालिकाले यस अघिदेखि नै आफ्नो वार्षिक कार्यक्रममा सिकल सेल एनिमिया परीक्षण, उपचार, रोकथाम एव न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएका छन् । स्वास्थ्य कार्यालय दाङले पनि २०७९/०८० सालमा संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका विभिन्न पालिकामा सिकलसेल एनिमियाको प्रयोगशाला परीक्षण गरेको थियो ।
२०७९ साल असार ६ देखि असार १८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा दुई हजार ८० नमुना परीक्षण गरिएकोमा सिकलसेल रोग ३७ जनामा र सिकल सेल बाहक ३२८ जनामा देखिएको थियो । २०८० मा जम्मा २५८५ जनाको रगतको नमुना सङ्कलन गरी परीक्षण गरिएकोमा सिकलसेल रोग ९ जनामा देखिएको थियो भने सिकल सेल बाहक २८४ जना थिए । त्यसपछि स्वास्थ्य कार्यालय दाङमा सिकलसेल एनिमिया परीक्षणको कार्यक्रम आएको छैन । यो अवस्थाले समग्र जिल्लामा सिकलसेल एनिमियाको अवस्था कस्तो छ भन्ने एकिन तथ्याङ्क कसैसँग पनि छैन । पछिल्लो कार्यक्रमले तथ्याङ्कलाई समेत बाहिर ल्याउने बताइएको छ ।



लाइभदाङ । २१ मंसिर २०८२, शनिबार ०८:३५ बजे