शान्तिनगरमा धान ओसाउने ‘पङ्खा’मा घोटालाः रु.६५०० पर्नेलाई रु.८५०० मा खरिद

दीपक बोहरा
दाङ,२५ साउन ।
दाङको शान्तिनगर गाउँपालिकाको कृषि सेवा शाखाले खरिद गरेको धान ओसाउने पङ्खामा घोटाला भएको पाईएको छ । किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरणकालागि खरिद गरिएको धान दाउने पङ्खामा घोटाला भएको पाईएको हो ।

बजार मूल्य रु.६ हजार पाँच पर्ने उक्त मेसिनलाई शाखाले ८ हजार पाँचसयमा खरिद गरेको पाईएको हो । वडा नं. ६ का किसानलाई वितरणकालागि उक्त पङ्खा खरिद गरिएको हो । पङ्खालाई ५० प्रतिशत अनुदानमा किसानलाई दिदा प्रत्येक किसानले ४ हजार २ सय ५० तिरेको बताएका छन् ।‘हामीलाई ४ हजार दुई सय ५० दिने भनेर भने’,किसान शुसिला चौधरीले भनिन्‘ त्यही रकम दिएर ल्याएका हौं ।’

गाउँ घरमा अरुले त्यही मेसिनलाई ६ हजार पाँच सय रुपैँया हालेर किनेर ल्याएको भन्दै आफूहरुलाई अनुदानमा पनि महंगो पर्न गएको उनको भनाई छ । शुसिला जस्तै त्यहाँका २४ जना किसानलाई ति मेसिन अनुदानमा ति मेसिन प्रदान गरिएको वडा सचिब अनन्त प्रकाश पुनले बताए । २५ वटा मेसिन वितरण गर्ने भनिएपनि एउटा मेसिन विग्रिएकाले २४ वटा मेसिन मात्रै प्रदान गरिएको हो ।


गएको बर्ष २०७८/०७९ को २ लाख बजेटबाट हामीले २५ वटा धान दाउने पङ्खा, ७८ वटा स्प्रे प्लाष्टिक ट्याङ्की, ३ थान कर्न सेलर र ५ थान ज्याप प्लान्ट खरिद गर्न गाउँपालिकाको कृषि शाखालाई निर्णयसहित पत्र लेखेर पठाएको उनले बताए ।‘अहिले वडाको बजेट भएपनि पालिकाबाटै खरिद गर्ने कुरा छ’,उनले भने‘हामीले वडाको निर्णयसहित सामाग्री खरिदकालागि पत्र पठायौं, त्यही अनुसार गाउँपालिकाले यी सामग्री खरिद गरेर पठायो, अनि हामीले गाउँमा वितरण गरेका हौं ।’

असार ३ गते बसेको वडाले सामग्री खरिद गर्ने निर्णय गरेको थियो । त्यो पत्र गाउँपालिकाको कृषि शाखामा असार १२ गते आएको गाउँपालिकाका कृषि शाखा प्रमुख एमकान्त पाण्डेले बताए । उनका अनुसार त्यो पत्र प्राप्त गरेपछि आफूहरुले कृषि र जिन्सी शाखाको समन्वय गरेर शुरुमा कोटेशन आह्वान गरेको बताए। त्यसमा बिभिन्न तीन वटा सप्लायर्सले कोटेशन हालेका थिए ।

जसमा सबै भन्दा कम मूल्य तुलसीपुर स्थित कुसुम्या सप्लायर्सले हालेपछि त्यसैसंग सम्झौता गरेर काम गरेको उनले बताए ।‘यति धेरै मूल्य किन भयो,भनेर हामीले सप्लायर्सलाई पनि सोध्यौं’,उनले भने‘त्यतिबेला फलामको मूल्य बढेकाले महंगो भएको भनेर प्रतिक्रिया दिएपछि, हामीले त्यही मूल्यमा कारोबार गरेको हो ।’ उनले चलनचल्तीको मूल्य भन्दा महंगो भएको स्वीकार गर्दै यसमा सप्लायर्सकै कम्जोरी भएको बताए । उक्त ट्याङ्कीको मूल्य दाङमा ६ हजार पाँच सयमा सप्लायर्सहरुले बेच्दै आएको एक ब्यबसायीले भने ।