नेपाल बैंकका म्यानेजर ५० लाख लिएर बेपत्ता, परिवार र बैंक दुवै प्रहरीमा

रुपन्देही, २४ साउन।
नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपानेले रकम हिनामिना गरी सम्पर्कविहीन भएपछि केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरी छानबिन प्रक्रियालाई अगाडि बढाएको छ ।

प्रारम्भिक आंकलनअनुसार बैंकमा खाता रहेका विभिन्न व्यक्तिको नामबाट रकम निकालेर श्रीमतीको नाममा बाहिर लगेको करिब ५० लाख रकमबारे सूचना बाहिर आएपछि उनी सम्पर्कविहीन भएका हुन् । विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेको र यही विषयलाई आधार मानेर केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरेको हो ।

न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । कालिकोट तिलगुफा नगरपालिका–५ का ३२ वर्षीय न्यौपाने हाल बाँके जानकी गाउँपालिका–३, कोरिएनपुर बस्दै आएका छन् । उनले गरेका अपचलन केन्द्रीय कार्यालयले सूचना पाएपछि काठमाडौंबाट छानबिन गर्न अनुसन्धान टोली जानुअघि उनी सम्पर्कविहीन भएका हुन् ।

नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले गत बुधबारदेखि न्यौपाने सम्पर्कविहीन भएको बताए । बैंकका लुम्बिनी प्रदेश लेखनाथ भुसालले यो विषय केन्द्रबाट नै फलोअप भएको जानकारी दिए ।


न्यौपानेले कति रकम हिनामिना गरेका थिए अनुसन्धानको लागि खटिएको टोली फर्किएपछि मात्रै भन्न सकिने नेपाल बैकले जनाएको छ । यसअघि नेपाल बैंकको सुर्खेतस्थित वीरेन्द्रनगरको शाखामा कार्यरत न्यौपानेलाई गत चैत २४ गते गुलेरिया शाखाको म्यानेजरको बनेर आएका थिए ।

नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेका उनले सुर्खेतबाटै सेवा सुरु गरेका थिए । विरेन्द्रनगरकै शाखामा पनि उनले रकम हिनामिना गरेको सूचना आएको बैकका कर्मचारीले बताएका छन् ।

न्यौपाने रकम हिनामिना गरी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा नेपाल बैंकले जाहेरी दिएपछि न्यौपानेको खोजी गरिरहेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । बैंकका नेपालगन्जस्थित सिटी अफिसका अधिकृत रुपेशकुमार श्रीवास्तवले न्यौपानेको खोजीका लागि प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । बैंकका रकम हिनामिना भएको जानकारी पाएपछि ग्राहकहरू आफूले जम्मा गरेको रकम खोजीका लागि धाउन थालेका छन् ।

उता न्यौपानेको खोजीका लागि परिवारले समेत जाहेरी लिएर साउन १४ गते नै जिल्ला प्रहरी कार्यालयमा पुगे पनि साउन १८ गते मात्रै दर्ता भएको थियो । अनुसन्धान सकिएपछि केन्द्रीय कार्यालयले बैंकिङ अपचलन मुद्दामा उनलाई कारबाही गर्ने तयारी गरेको छ ।