रोल्पामा जिप दुर्घटना, ६ यात्रु घाइते

रोल्पा, २३ साउन ।
रोल्पाको भदौरे मन्दिर नजिकै सोमबार बिहान जिप दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । बुटवलबाट रोल्पा सदरमुकाम लिबाङ आउँदै गरेको टाटा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बुटवलबाट लिबाङ आइरहेको भे १ ज १७७१ नम्बरको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको थियो । रोल्पा नगरपालिका–१ मा पर्ने दुर्घटनास्थल भदौरे मन्दिरमुनिको ओरालो बाटोमा पर्छ ।

गुडिरहेको जिप एक्कासी नियन्त्रणबाहिर जान पुगेकाले पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपमा सवार ६ जना घाइते भएको र सबैलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि जलजला हिमाल यातायात प्रालिको उक्त जिपका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । रातभर गाडी चलाएका चालक घुम्ती बाटोमा निदाएका कारण जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


जिप दुर्घटनामा घाइते भएकामा रोल्पा नगरपालिका–९ होमाकी २६ वर्षीया दीविसा बुढा, त्यसै गाउँका ३१ वर्षीय कमलप्रसाद बुढामगर, रोल्पा नगरपालिका–७ माडीचौरकी २८ वर्षीया भीमली घर्तीमगर तथा पश्चिमी रोल्पाको गंगादेव गाउँपालिका–७ बडाचौरका २४ वर्षीय नरेन पुन छन् । उनीहरूलाई रेउघास्थित रोल्पा अस्पतालमा पुर्‍याएर सामान्य उपचारपछि घर फिर्ता पठाइएको छ ।

यस्तै दुर्घटनामा सख्त घाइते भएका रोल्पा नगरपालिका–३ खुमेलकी ३३ वर्षीया संगीता परियार र ३४ वर्षीय पर्शुराम परियारलाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाबारे अनुसन्धान गरिरहेको रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।