
तुलबहादुर कवँर मगर
मसुरिया, १५ असार।
दाङको राप्ती गाउँपालिकाले सरुवा भई रुपन्देहीको रोहिणी गाउँपालिकामा जान लाग्नुभएका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीलाई सोमबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम गरी विदाइ गरेको छ।
राप्ती गाउँपालिकामा करिब साढे ६ वर्ष प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहनुभएका ज्ञवालीलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न वडाका वडा अध्यक्षहरू तथा कर्मचारीहरूले टीका, फूलमाला र सम्मानपत्र प्रदान गरी विदाइ गर्नु भएको हाे।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले ज्ञवालीले आफ्नो कार्यकालभर इमानदारी, जिम्मेवारी र व्यावसायिक दक्षताका साथ प्रशासनिक नेतृत्व प्रदान गरेको बताउनुभयो। उहाँले सीमित स्रोतसाधन, चुनौतीपूर्ण परिस्थिती र बढ्दो जनअपेक्षाबीच पनि ज्ञवालीले कानुन, विधि र सुशासनलाई मार्गदर्शन मानेर गाउँपालिकाको प्रशासनिक प्रणालीलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
अध्यक्ष विष्टले ज्ञवाली केवल कर्मचारी मात्र नभई गाउँपालिकाको एक भरोसायोग्य सहयात्री र संस्थागत विकासका आधारस्तम्भ भएको बताउँदै उहाँले स्थापित गर्नुभएको कार्यसंस्कृति, अनुशासन र सेवाभावले आगामी दिनमा पनि कर्मचारीहरूलाई प्रेरणा दिइरहने विश्वास व्यक्त गर्नुभयो। उहाँले जहाँ कर्तव्यलाई धर्म र इमानदारीलाई जीवनको आधार बनाइन्छ, त्यहाँ सफलता स्वतः प्राप्त हुने उल्लेख गर्दै ज्ञवालीको आगामी कार्ययात्रा अझ सफल र उपलब्धिमूलक हुने शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले ज्ञवालीले कर्मचारी र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका निर्वाह गर्दै गाउँपालिकाको प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। उहाँले ज्ञवालीको सरल स्वभाव, कार्यप्रति समर्पण र सकारात्मक सोचले सबैसँग आत्मीय सम्बन्ध स्थापित गर्न सफल भएको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले ज्ञवालीसँग करिब एक वर्ष सहकार्य गर्ने अवसर प्राप्त भएको स्मरण गर्दै उहाँको प्रशासनिक अनुभव, कार्यकुशलता र संस्थाप्रतिको प्रतिबद्धता अनुकरणीय रहेको बताउनुभयो। उहाँले ज्ञवालीले कार्यालयको कामलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी जिम्मेवारीमा पनि सफलताको शुभकामना दिनुभयो।
बिदाइ मन्तव्य व्यक्त गर्दै ज्ञवालीले राप्ती गाउँपालिकामा बिताएको करिब साढे ६ वर्ष आफ्नो सेवाजीवनको महत्वपूर्ण र अविस्मरणीय अवधि भएको बताउनुभयो। उहाँले जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीबाट प्राप्त सहयोग, सद्भाव र विश्वासका कारण आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेको उल्लेख गर्नुभयो।
ज्ञवालीले राप्ती गाउँपालिकामा कार्यरत रहँदा प्राप्त अनुभव र सिकाइले आगामी कार्यक्षेत्रमा थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले आफू जहाँ रहे पनि राप्ती गाउँपालिकासँगको आत्मीय सम्बन्ध निरन्तर कायम रहने बताउनुभयो।
कार्यक्रममा अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूले ज्ञवालीको सफल कार्यकालको प्रशंसा गर्दै आगामी कार्ययात्राको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।



लाइभदाङ । १५ असार २०८३, सोमबार २२:२१ बजे