वन मौरीले टोक्दा दाङमा एक जनाको मृत्यु

दाङ, २२ साउन ।
दाङको देउखुरीमा वन मौरी (भिरे)ले टोक्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–७ लैबरुवाका ३५ वर्षीय खिमबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए।

कुमाल शनिबार अपरान्ह ५ बजेको समयमा साथिहरुसँग घर नजिकैको जंगलमा वन मौरी (भिरे)को चाका काट्न गएका थिए। सिमलको रुखमा मौरी काट्न चढेका बेला मौरीले टोकेर गम्भीर घाइते भएका खिमबहादुरलाई उपचारका लागि लमही अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक कुमालको शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।