लुम्बिनी प्रदेश सभामा प्रतिवेदन सहित स्थानीय सेवा ऐनको विधेयक पेश हुँदै

भालुवाङ ५ भदौ । लुम्बिनी प्रदेश सभाको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदन सहित पेश हुने भएको छ ।

आज बुधवार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २६ औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

यो विधेयक बैशाख ३० गते प्रदेश सभामा पेश भएको थियो । दफावार छलफलका लागी प्रदेश सभाले प्रदेश मामिला तथा कानून समितिमा पठाएको थियो । विधेयकभित्र स्थानीय तहमा कार्यरत महिला कर्मचारीले महिनाको एक दिन महिनावारी बिदा लिन पाउने व्यवस्था राखिएको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि यो विषय राखिएको थियो ।


यस्तै स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरुवा गर्न सक्ने, स्थानीय तहका कर्मचारी सरुवा भई जाँदा दुवै पालिकाको अनुमति नचाहिने व्यवस्था राखिएको छ ।

हाल अन्तरपालिका सरुवा हुन खोज्दा दुवै पालिकाको अनुमति चाहिने प्रावधान छ । यस्तै मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।