गठबन्धनको सिट बाँडफाँट साउन अन्तिमसम्म टुंग्याउन ११ सदस्यीय कार्यदल गठन

काठमाडौं, २० साउन ।
सत्तारूढ पाँच दलीय गठबन्धनले साउनभित्रै सिट बाँडफाट गर्ने गरी कार्यदल गठन गरेको छ। आज बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको हो।

मंसिर ४ मा हुने चुनावका सत्ता गठबन्धनका दलहरूले तालमेल गरेर जाने निर्णय गरिसकेका छन् तर सिट बाँडफाँट चुनौतीपूर्ण छ।

स्रोतका अनुसार सिट बाँडफाँटका लागि गठन भएको कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की छन्।

यस्तै कार्यदलमा नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा छन्। नेकपा एकीकृत समाजवादीबाट नेताहरू प्रमेश हमाल र बेदुराम भुषाल कार्यदलमा छन् भने जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेमजोङ कार्यदलमा छन्।


राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्। सरकारका प्रवक्ता कार्कीले भने कार्यदल गठनबारे जानकारी दिएनन्।

उनले मंसिर ४ मा हुने चुनावमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति भएको मात्रै बताएका थिए। यो कार्यदलले साउन अन्तिमभित्र सिट बाँडफाँटबारे टुंगो लगाउने तयारी गरेका छन्।