
दाङ, २३ भदौ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि दाङको राप्ती गाउँपालिकास्थित युथअफ राप्तीले एक लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ।
युथअफ राप्तीका अध्यक्ष बसन्त हमालको नेतृत्वमा गाउँ–गाउँबाट स्वतःस्फूर्त रूपमा संकलन गरिएको चामल, दाल, नुन, तेल, चिउरालगायत खाद्यान्न सामग्री बाढी प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो।
क्लबका अध्यक्ष हमालसहित सदस्य प्रदीप सुनार, मौसम परियार, भोजराज महरा, रोमन ज्ञवाली, मिलन पुन मगर, किरण नेपाली, सुवास शाही ठकुरी, कमल परियार, सन्देश भण्डारी क्षेत्री र एकराज शाही ठकुरीको टोली रसुवा पुगेर बाढीका कारण विस्थापित भई शिविरमा आश्रय लिइरहेका परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो।
विपद्को समयमा प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले गाउँस्तरबाट खाद्यान्न संकलन गरिएको युथअफ राप्तीका सदस्य प्रदीप सुनारले जानकारी दिनुभयो। स्थानीयवासी तथा युवाहरूबाट प्राप्त सहयोगलाई प्रभावित परिवारसम्म पुर्याइएको उहाँले बताउनुभयो।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्। प्रभावित परिवारलाई आवश्यक खाद्यान्नलगायत आधारभूत सामग्री उपलब्ध गराउन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग अभियान सञ्चालन गरिएको युथअफ राप्तीले जनाएको छ।
अध्यक्ष हमालको नेतृत्वमा सञ्चालित अभियानमा गाउँ–गाउँका नागरिक तथा युवाहरूले सहयोग गरेका थिए। युथअफ राप्तीले आगामी दिनमा पनि विपद् तथा सामाजिक क्षेत्रमा आवश्यकताअनुसार सहयोग र सेवामूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।



लाइभदाङ । २३ भाद्र २०८३, मंगलवार १४:११ बजे