मेट्रो कलेजमा फ्रेन्च भाषा अध्यापन हुदै

तुलसीपुर, २५ भदौ ।
तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर मेट्रो कलेजमा बिएचटिएम अध्ययनरत विद्यार्थीलाई फ्रान्समा अन्तर्राष्ट्रियस्तरको इन्टर्नशिपमा सहभागी गराउनका लागि फ्रेन्च भाषाको अध्यापन भइरहेको छ ।

फ्रान्समा इन्टर्नशिपका क्रममा विद्यार्थीलाई काम गर्न तथा स्थानीय भाषा, संस्कृति र वातावरणमा सहज रूपमा घुलमिल हुन सहयोग पुर्याउने उद्देश्यले कलेजमा फ्रेन्च भाषा तथा व्यवहारिक तालिम सञ्चालन भइरहेको छ। तालिमका लागि फ्रान्सबाट आएका स्वयम्सेवी प्रशिक्षकहरूले विद्यार्थीलाई प्रत्यक्ष रूपमा फ्रेन्च भाषा तथा त्यहाँको संस्कृति र व्यवहारसम्बन्धी ज्ञान प्रदान गरिरहेका छन्।

भाषा तथा व्यवहारिक तालिम पूरा भएपछि छनोट भएका विद्यार्थीहरू इन्टर्नशिपका लागि फ्रान्स जाने तयारीमा छन्। यस कार्यक्रमले विद्यार्थीलाई आफ्नो अध्ययनसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्य वातावरणको प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने कलेजले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिकाले स्थानीयस्तरमै प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालन गरेको कलेजले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन विभिन्न अवसर र कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख टिकाराम खड्काले बताए ।


कलेज प्रमुख बसन्त आचार्यले विद्यार्थीका लागि फ्रान्समा इन्टर्नशिपको अवसर सिर्जना हुनु कलेजको शैक्षिक यात्रामा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले यसभन्दा अगाडी विद्यार्थीहरुलाई चिनिया भाषाको अध्यापन गराएको पनि जानकारी दिए ।

फ्रान्समा इन्टर्नशिपको अवसरसँगै फ्रेन्च भाषा तथा सांस्कृतिक तालिम सञ्चालन भएपछि बिएचटिएमका विद्यार्थीमा उत्साह थपिएको छ। अध्ययनकै क्रममा अन्तर्राष्ट्रिय कार्य वातावरणको अनुभव हासिल गर्ने अवसरले विद्यार्थीको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै भविष्यमा पर्यटन तथा आतिथ्य क्षेत्रमा रोजगारीका थप सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

स्थानीय तहको अभिभावकत्वमा सञ्चालित शैक्षिक संस्थाले आफ्ना विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरका अवसर सिर्जना गर्न सक्छ भन्ने उदाहरणका रूपमा तुलसीपुर मेट्रो कलेजको यो पहललाई लिन सकिने नगरप्रमुख खड्काले बताए ।