घोराही सिमेन्टले चार सय ३५ रूपैयाँको दरमा सेयर बिक्री गर्ने, ३ अर्ब ४४ करोडको आइपिओ आउँदै

काठमाडौं, १५ साउन ।
घोराही सिमेन्टले स्थानीयलाई प्रमियम मूल्य सहित चार सय रूपैयाँको दरमा र सर्वसाधारणलाई चार सय ३५ रूपैयाँको दरमा आइपिओ जारी गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा साउन ९ गते आवेदन दिएको छ।

कम्पनीले स्थानीयलाई तीन लाख ९७ हजार र सर्वसाधारणलाई ७६ लाख ४६ हजार कित्ता आइपिओ जारी गर्ने भएको हो। कम्पनीले आइपिओ जारी गरेर कुल तीन अर्ब ४४ करोड रूपैयाँ संकलन गर्ने भएको छ।


कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ। कम्पनीले केयर रेटिङ नेपालबाट बीबीबी माइनस रेटिङ पाएको छ। यस्तो रेटिङले कम्पनी भुक्तानी क्षमताका आधारमा मध्यम क्षमता रहेको संकेत गर्छ।

कम्पनीले बैंकहरूमार्फत् आठ अर्ब आठ करोड रूपैयाँ बराबरको दीर्घकालिन र चार अर्ब ७९ करोड बराबरको अल्पकालिन कर्जा लिएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब रूपैयाँ आम्दानी गरेको छ। कम्पनीले हाल दैनिक १९ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्दै आएको छ।