टरिगाउँ एयरपोर्टबाट बाउजर नलिने

दीपक बोहरा
दाङ,१६ साउन । दाङको तुलसीपुर १२ स्थित टरिगाउँ एयरपोर्टबाट बाउजर काठमाडौं नलिइने भएको छ । नेपाल आयल निगमले टरिगाउँ एयरपोर्टमा आएको बाउजर काठमाडौं लैजाने गरि केही कर्मचारीलाई आईतबार तुलसीपुर पठाएको थियो । त्यो थाहा पाएपछि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसहितको यस क्षेत्रका सरोकारवाला निकायको टोलीले इन्धन डिपो निर्माण स्थलमा तालाबन्दी गरेको थियो ।

तालाबन्दीको कुरा नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले काठमाडौं जानकारी गराएपछि अहिले बाउजर लैजाने कुरा रोकिएको छ ।‘यहाँका स्थानीयले विरोध गर्नुभयो’,उनले भने‘त्यसले गर्दा काठमाडौंबाटै अब नलैजाने भन्ने कुरा आएको छ ।’ तुलसीपुर एयरपोर्टमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

संरचना सबै तयारी भएको र ल्याब टेष्टकालागि भारत पठाएकाले त्यसको रिपोर्ट आएपछि इन्धन भर्न सुरु हुने प्रमुख श्रेष्ठले बताए । उनका अनुसार डिपो सञ्चालनमा नआउँदासम्मकालागि रामेछापको बन्थली विमानस्थलमा लैजाने तयारी गरिएको थियो । दाङमा ठूलो बाउजर पनि नचाहिने भएकाले यो लगेर अर्को सानो ल्याउने तयारी रहेको समेत श्रेष्ठले बताए ।‘हाम्रो यहाँ ५÷६ करोड लगानी भएको छ, हामीले यत्रो लगानी गरेपछि यो नचालाउने भन्ने कुरा हुँदैन, यहाँका नगारिकले बुझ्नु भएन’,उनले भने‘यहाँबाट लगेर अर्को बाउजर ल्याउने कुरा भएको हो ।’


यहाँबाट बाउजर नलैजाने कुरा भएपछि चावी पनि प्रहरीलाई हस्तान्तरण गरिएको छ । यहाँबाट बाउजर लिन नदिने सहमति पश्चात सुरक्षाका दृष्टिले असहज हुने भन्दै इन्धन डिपो निर्माण स्थलको गेटमा लगाईएको तालाको चावी प्रहरीलाई बुझाईएको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

काठमाडौंबाट ३÷४ जनाको टोली आएर उक्त बाउजरलाई आजै काठमाडौ लैजाने तयारी गरेपछि ईन्धन डिपो स्थलको दुईवटा गेटमा तालाबन्दी गरिएको थियो । विगतमा दाङ ल्याउने भनिएको बाउजर एकैपटक जनकपुर लगिएको इतिहास भएको भन्दै आइसकेको बाउजरलाई लिन खोज्नुले यहाँ शंका उत्पन्न भएको थियो ।

बाउजरले डिपोबाट जहाजसम्म इन्धन ओसार्ने काम गर्छ । त्यसकालागि जेठ १२ गते तुलसीपुरमा बाउजर ल्याएपछि यस क्षेत्रका नागरिक खुसी भएका थिए । डिपो निर्माणको काम पनि अन्तिम चरणमा रहेकाले दाङ–काठमाडौं हवाई भाडा कम हुने अपेक्षा लिइएको थियो । उक्त बाउजर ११ हजार लिटर क्षमताको रहेको छ । टरिगाउँ एयरपोर्ट २०११ सालमा स्थापना भएको हो । उक्त विमानस्थलमा अहिले हप्तामा पाँच दिन उडान भर्ने गरेको छ । शनिबार र शुक्रबार बाहेक सबै दिन उडान भर्ने गरेको उक्त विमानस्थलमा ठूला जहाज बस्न नसक्दा यात्रुहरु महंगो भाडा तिर्न बाध्य छन् ।