प्राबिधिक रुपमा प्रदेशको नेतृत्व गुमेपनि हामी जनताकै साथमा छौं : शंकर पोखरेल

दाङ
३० साउन / लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नेतृत्वबाट आफू प्राबिधिक रुपमा बाहिरिएपनि जनताकै साथमा रहेको बताएका छन् ।

मुख्यमन्त्रीबाट बाहिरएपछि पहिलो पटक शनिबार गृह जिल्ला दाङ आएका पोखरेलले घोराहीमा स्थापना गरिएको शहिद नेत्रलाल अभागीको शालिक अनावरण गर्दै यस्तो बताए ।‘चुनाबबाट दाङले प्रदेशको नेतृत्व गर्ने अवसर प्राप्त गरेको थियो’, उनले भने‘ अवसरवादका कारण, स्वार्थी राजनीतिका कारणले त्यो नेतृत्व हामीले गुमाएका छौं । प्राबिधिक रुपमा नेतृत्व गुमेपनि जनताको मन, आस्था र विस्वासको नेतृत्व कायम राखेका छौं ।’

प्रदेशको संस्थापक मुख्यमन्त्रीका हिसाबले आफूले तयार पारेको संरचनाहरु कसैले पनि भत्काउन नसक्ने समेत उनले बताए ।


एमाले स्थायी कमिटि सदस्य समेत रहेका उनले अहिलेको परिणाम प्रचण्डको जनयुद्धको बेलाको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति नै रहेको बताए ।“प्रचण्डले जनयुद्धको बेलाको ढाडमा टेकेर टाउकोमा हान्ने नीति अझै छोड्नु भएको रहेनछ’,उनले भने‘ उहाँले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नु भयो, आजको परिणाम त्यसकै पुष्टि हो ।’ साथै नेतृत्वको अस्थिरता, अवसरवाद र महत्वकांक्षाले नै नेपालको राजनीति यो अबस्थामा आएको बताए ।

उनले अबको राजनीति दुई ध्रुबमा अघि बढेको समेत बताए ।‘एउटा केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान, विकास, समृद्धिको कुरा गर्छ, अर्को सरकारमा रहेको राजनीतिक मोर्चा हो, जो न सिद्धान्त छ, न नीति, कार्यक्रम छ’उनले भने‘ कुण्डा, अवसरवाद, प्रतिशोधको भावना मात्रै छ, यी ध्रुब मध्ये जनताले कुन ध्रुब रोज्ने भन्ने कुरा हो ।’