दाङमा भाइरलले सतायो

तुलसीपुर, १२ साउन ।
दाङमा भाईरल ज्वरोका विरामीहरु बढेका छन् । भाइरल ज्वरो बढेकै कारण दाङका विद्यालयहरु बन्द हुन थालेका छन् । घोराही भित्रका निजि विद्यालयहरु चार दिनकालागि बन्द भएका छन् । मंगलबारदेखि शुक्रबारसम्म घोराहीका निजि विद्यालयहरु बन्द गर्ने निजि विद्यालय अन्तर्गतका संगठनहरुले संयुक्त निर्णय गरेर कार्यान्वयन गरेका छन् ।

तुलसीपुरमा पनि भाइरल ज्वरोका विरामीहरु बढेका छन् । दाङको तुलसीपुर ४ रक्षाचौर स्थित गुरुजजुर माबिमा प्रत्येक दिन विद्यार्थीहरु विरामी हुने गरेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक ५० जना रहेको एउटा कक्षामा मात्रै ७/८ जनामा भाइरल ज्वरोको समस्या देखिने गरेको छ ।“हाम्रो विद्यालयको एउटा कक्षामा ५० जना जति विद्यार्थी छन्, ति मध्ये दैनिक ७/८ जना विद्यार्थीहरु भाइरलको संक्रमणले थला पर्ने गरेका छन्”, उहाँले भन्नुभयो“अहिले हाम्रो विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म र ३ बर्षे बन बिज्ञानको कक्षा सञ्चालन भइरहेको छ, त्यसमा २३०० विद्यार्थी अध्ययनरत छन् ।” दिन प्रतिदिन विरामीमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेका छन् ।


त्यस्तै तुलसीपुर स्थित ग्रेट अरणीको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरुमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सीपल विष्णु कुमार देवकोटाका अनुसार विरामीकै कारण दैनिक ४/५ जना विद्यार्थीहरु ज्वरो आएकै कारण विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।

भाइरल विरामीले नै अहिले स्वास्थ्य संस्थामा विरामीको संख्या भरिभराउ हुन्छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन शाखाका सिनियर अहेब विष्णु गिरीका अनुसार स्वास्थ्य सस्थामा आउने ५० प्रतिशत विरामी भाइरलजन्य नै हुने गरेको बताउनुभयो ।“अहिले उपमहानगरपालिका भित्रका हरेक स्वास्थ्य संस्थामा आउने विरामीमध्ये ५०प्रतिशत विरामीहरु भाइरल ज्वरोकै रहेका छन्”,उहाँले भन्नुभयो“मौसम परिबर्तन हुँदा भाइरल ज्वरोका विरामीहरु बढ्छन् ।” भाइरलका विरामी बढ्न थालेपछि अहिले अभिभावकहरुलाई पनि भाइरल भएका विद्यार्थीहरुलाई उपचार गराएर घरमै आराम गराउन भनेको समेत उहाँले बताउनुभयो ।