अपहरण प्रकरण : अनुसन्धानकालागि ९ दिन म्याद थप

दाङ
११ साउन / दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ बर्षीय केशव कुमार विकलाई अपहरण गरि ७ लाख मागेको भन्दै पक्राउ परेका ६ जनालाई अनुसन्धानकालागि ९ दिन म्याद थप गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङ देउखुरी जिल्ला अदालतले आज ९ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । युवतिलाई प्रयोग गरेर ७ लाख रुपैँया फिरौति मागेको आरोपमा प्रहरीले बबई गाउँपालिका वडा नं. ४ निवासी ३५ बर्षीय लिला विक, सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती, तुलसीपुर ७ निवासी २६ बर्षीया निर्मला विक, तुलसीपुर ४ खाद्रे निवासी २५ बर्षीय सुकलाल विक, कपिलबस्तु शिवराज नगरपालिका ९ बस्ने २० बर्षीय मनोज थारु र गाडी चालक प्यूठान ७ घर भइ हाल तुलसीपुर ६ बस्ने २४ बर्षीय जनक कुँवरलाई पक्राउ गरेको थियो । काठमाडौंबाट दैलेख जाँदै गरेका केशवलाई बुटवलबाट अपहरण गरिएको हो । निर्मला विकलाई प्रयोग गरेर काम भएको भन्दै फेसबुकमा बुटवल झर्न भनेपछि केशव बुटवल झरेका थिए ।

सोमबार राति साढे ८ बजे बुटवल झरेका उनलाई ल्याउन बबई गाउँपालिका वडा नं. ४ निवासी ३५ बर्षीय लिला विक र सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती गए । निर्मलाले ‘आफन्तको गाडी छ, त्यही गाडीमा आउनु, नम्बर दिएकी छु’, भनेर केशवलाई भनेपछि केशवले पनि विश्वास गरे ।

केही समयपछि उनलाई लिला र नेववहादुर चढेको गाडीको ड्राइभरले केशवलाई फोन गरे । फोन गरेपछि उनीहरुको भेट भयो र, प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडीमा हालेर उनीहरुले तुलसीपुर ल्याए । तुलसीपुर ल्याएपछि सल्यानरोड स्थित युवम होटेलको १०६ नम्बर कोठामा बन्धक बनाइ राखे र, ७ लाख रुपैँया फिरौति मागे ।


त्यो सूचना दैलेख स्थित केशवको श्रीमतिलाई गयो र उनले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई मंगलबार दिउसो साढे ४ बजे खबर गरिन । खबर गर्न साथ प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको टोलीले २० मिनेटमै केशवलाई उद्दार ग¥यो र घटनामा संलग्न रहेको भन्दै ६ जनालाई पक्राउ ग¥यो ।

विदेशबस्दाको लेनदेन नमिलेपछि अपहरण
सुकलाल, मनोज र पीडित केशव रोजगारको सिलसिलामा साउदीमा संगै बसेका ब्यक्ती हुन् । बैदेशिक रोजगारीको सिलसिलामा संगै काम गर्ने क्रममा केशवले सुकलाल र मनोजको पैसा पटक–पटक घर पठाउन सहयोग गर्थे । यसै क्रममा केही महिना अघि विदेश रहेकै समयमा सुकलाल र मनोजले १६ हजार साउदी रियल( हाल नेपाली रुपैँया ५ लाख ४२ हजार९ सय ४६) केशवलाई दिए । नजिक आईएमई थिएनन् । त्यसैले केशवले पनि चिनेको साथी मोरङ्को प्रकाश सुवेदीलाई त्यो रकम दिए । पटक–पटक केशवले घर पैसा पठाउन सुवेदीकै सहयोग लिन्थे । तर अन्तिम पटकको १६ हजार साउदी रियल घर पठाएनन् । सुवेदीले त्यो रकम आफैले प्रयोग गरे ।

तर, उनले केही समय पछि दिन्छु, भन्ने बाचा गरेका थिए । यही बीचमा केशव,सुकलाल र मनोज नेपाल आए । एक डेढ महिना अघि मात्रै उनीहरु नेपाल आएर पुनः जाने तयारीमा थिए । तर, उनीहरुले त्यो पैसा नआएपछि त्यो पैसा निकाल्नकालागि सुकलाल र मनोजले लिला र नेवबहादुरलाई गुहार मागे ।

त्यसपछि लिला र नेववहादुरले निर्मला विकलाई प्रयोग गरेर अपहरण गर्न सफल भए र तुलसीपुर ल्याएका थिए । त्यसपछि उनीहरुले त्यो पैसा फिर्ता गर्न दवाव दिएका थिए । यही बीचमा केशवले प्रकाशलाई फोन गर्दा प्रकाशले १० दिन भित्रमा पैसा दिने बाचा गरेको भनि केशवले प्रहरीलाइ बयान दिएका छन् ।