काठमाडौं, ३१ असार ।
प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।
उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो । अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् ।
लाइभदाङ । ३१ असार २०७९, शुक्रबार १७:०९ बजे