देउखुरी उद्योग वाणिज्य संघद्वारा रिक्त पदमा मनोनयन, नयाँ सदस्यलाई सपथ

प्रिया स्मृती गजमेर
देउखुरी, २१ कार्तिक ।
देउखुरी उद्योग वाणिज्य संघले रिक्त रहेका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू मनोनीत गरेको छ । संघको आज सम्पन्न बैठकले विभिन्न पदमा मनोनयन गर्नुका साथै मनोनीत सदस्यहरूलाई सपथ ग्रहण गराएको हो ।

संघले सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेल र निवर्तमान महासचिव हरि बहादुर थापालाई मनोनीत गरेको छ । त्यस्तै, महिला उपाध्यक्षमा शान्ता खनाल, एसोसिएट सदस्यमा कृष्णप्रसाद श्रेष्ठ, वस्तुगत सदस्यमा विकास बोहरा, मनोनीत सदस्यमा सुरजकुमार श्रेष्ठ र मैनुदिन मिया चयन हुनुभएको छ ।

यसैगरी कानुनी सल्लाहकारमा सन्तराम चौधरी, मानार्थ सदस्यमा शिवचन्द्र घिमिरे र प्रेस संयोजकमा प्रिया स्मृती गजमेरलाई मनोनीत गरिएको संघले जनाएको छ ।

बैठकमा संघका अध्यक्ष ईश्वर प्रकाश श्रेष्ठले मनोनीत पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै संघको संस्थागत विकास, व्यवसायीहरूको हकहित संरक्षण र उद्योगी व्यवसायीका समस्या समाधानमा सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले संघलाई थप सक्रिय र प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।


त्यसैगरी वरिष्ठ उपाध्यक्ष शारदा सुवेदीले मनोनीत सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै संघको गतिविधि तथा व्यवसायीहरूको हितमा एकताबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो ।

आउँदै गरेको दीपावली तथा छठ पर्वको अवसरमा अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुवेदीलगायतले सम्पूर्ण उद्योगी, व्यवसायी तथा सर्वसाधारणमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष ईश्वर प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष शारदा सुवेदीले गर्नुभएको थियो भने सहजीकरण महासचिव सुदीप पाण्डेले गर्नुभएको थियो ।