तुलसीपुरमा विपद् जोखिम: उपकरण अभावका बिच बहुपक्षीय सहकार्यको माग

तुलसीपुर, २१ कात्तिक ।
दाङको तुलसीपुरमा आगलागीजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति घटाउनका लागि आवश्यक स्रोतसाधनको जोहो, पूर्वतयारी तथा सरोकारवाला निकायहरूबीच प्रभावकारी सहकार्य हुनुपर्नेमा जोड दिइएको छ। तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ती शान्ति उद्यानमा शनिबार आयोजित ‘विपद् जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यम तथा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरूले विपद् नियन्त्रणका लागि चाहिने उपकरण, जनशक्ति र पूर्वतयारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि एवम् तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले दमकल खरिदका लागि नगरपालिकाले १ करोड २५ लाख रुपैयाँ बजेट छुट्याएर दुई पटकसम्म टेन्डर आह्वान गर्दा पनि खरिद नियमावलीअनुसार रीतपूर्वकको आवेदन नपरेको जानकारी दिनुभयो। उहाँका अनुसार तिहारपछि तेस्रो पटक पुनः टेन्डर आह्वान गरी खरिद प्रक्रियालाई अघि बढाउने तयारी भइरहेको छ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेलले संकटका बेला भ्रामक खबरहरू फैलिन नदिन सञ्चारमाध्यमले सधैँ सही र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक प्रविधि तथा सामग्री खरिद गर्ने कानुनी प्रक्रियालाई पनि सरल र सहज बनाउनुपर्ने धारणा राख्नुभयो। यस्तै, नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले नेपाली सञ्चारक्षेत्रले इतिहासमै पहिलो पटक यति ठूलो विपद्को सामना गरिरहेको उल्लेख गर्दै मिडियाप्रति सरकारले सहयोगी नीति लिनुपर्ने बताउनुभयो।

उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका संयोजक दुजमान भण्डारीले विपद् नियन्त्रणका लागि बजेटको कुनै अभाव नरहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार उक्त शाखासँग हाल १ करोड रुपैयाँभन्दा बढी बजेट उपलब्ध रहेको छ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी टीकाराम रेग्मीले विपद्को सामना गर्न सामूहिक एकता र आपसी सहकार्य अनिवार्य रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले घटना हुनुअघि गरिने पूर्वतयारीले सम्भावित जोखिम र क्षतिलाई निकै हदसम्म कम गर्न सक्ने उल्लेख गर्नुभयो।

राजनीतिक दलका प्रतिनिधिहरूले पनि विपद् व्यवस्थापनमा साझा पहलकदमी हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरका सभापति जीवन भण्डारीले समाज रूपान्तरणमा मिडियाको अहम् भूमिका हुने भन्दै सामूहिक एकताका साथ विकास निर्माणका काम अघि बढाउनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका नेता सुरेश हमालले एकअर्कालाई दोषारोपण गर्नुभन्दा रचनात्मक काममा जुट्नुपर्ने र तुलसीपुरमा दमकल नआउन्जेल अन्य छिमेकी पालिकासँग समन्वय गरेर भए पनि विपद्को तयारी गर्नुपर्ने सुझाव दिनुभयो।

नेकपा एमाले तुलसीपुर नगर कमिटीका अध्यक्ष रूपबहादुर खत्रीले विपद् जोखिम न्यूनीकरण गर्नु सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो। श्रम संस्कृति पार्टी तुलसीपुर नगर अध्यक्ष ईश्वरीप्रसाद गैरेले थर्कोटको पर्यटन प्रवर्द्धनमा जोड दिनुभयो। मानवअधिकारकर्मी सुशील बस्नेतले सरकार र सरोकारवाला निकायबीच निरन्तर समन्वय कायम गरी विपद् व्यवस्थापनका लागि स्थायी संयन्त्र गठन र परिचालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।


सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) लेखा समिति सदस्य सङ्गीत बस्यालले सामुदायिक रेडियोहरूले समाजप्रति जिम्मेवार भएर सत्य-तथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल प्रेस युनियन दाङका अध्यक्ष आरके शीतलले आगलागीजन्य घटना कम गर्न व्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो।

प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालले सामाजिक सद्भाव र सहिष्णुता कायम हुने गरी जिम्मेवार पत्रकारिता गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। प्रेस सेन्टर दाङका सचिव दीपक बोहराले मिडियाले उठाउने आलोचनात्मक प्रश्नहरूलाई सकारात्मक रूपमा लिन सरोकारवालालाई आग्रह गर्नुभयो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले आगलागीजस्ता विपद्बाट हुने क्षति न्यूनीकरण प्रहरीको एक्लो प्रयासबाट मात्र सम्भव नहुने भएकाले सबैको सामूहिक सहयोग चाहिने बताउनुभयो। साथै, तिहारका बेला दियो बाल्दा आगलागीको उच्च जोखिम हुने भएकाले विशेष सजगता अपनाउन पनि उहाँले नागरिकलाई आग्रह गर्नुभयो।

तुलसीपुर चेम्बर अफ कमर्सका सचिव दुर्गाप्रसाद शर्माले आगलागी नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तुलसीपुरमा दमकलको प्रबन्ध मिलाउनु अनिवार्य भइसकेको बताउनुभयो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव भद्रबहादुर वलीले गर्नुभएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले विपद् जोखिम न्यूनीकरण र सचेतनाका विषयमा तयार पारिएको ९ बुँदे निष्कर्ष प्रस्तुत गर्नुभएको थियो। अन्तमा, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका उपाध्यक्ष टीकाजंग वलीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।