
तुलसीपुर, २१ कात्तिक ।
दाङको तुलसीपुरका युवाहरुलाई‘विज्नेश आईडिया’ प्रदान गरिएको छ । कन्सस सर्कल तुलसीपुरको आयोजनामा शुक्रबार तुलसीपुर क्षेत्रका युवाहरुलाई विज्नेश आईडिया प्रदान गरिएको हो । युवाहरुलाई उद्यममा जोडर स्वरोजगार बनाउनकालागि उक्त कार्यक्रम गरिएको अभियन्ता हरिश गिरीले बताए । उनका अनुसार पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेको भन्दै यस्ता सचेतनाले युवाहरुलाई ब्यबसायमा जोड्न मद्दत गर्ने उनले बताए ।
त्यस अवसरमा राष्ट्रियसभाका निवर्तमान सदस्य जगप्रसाद शर्मा‘अपार’ले युवाहरु उद्यममा जोडिनु पर्ने बताए । मुलुकलाई सही मार्गमा लैजानकालागि युवाहरुको भूमिका महत्वपूर्ण हुने समेत उनले बताए । त्यस अवसरमा पूर्व प्रहरी अधिकृत रामबहादुर जीसी, व्यबसायी तिलक योगी, तुफान केसी, पत्रकार दीपक बोहराले युवाहरु सचेत, संस्कारी हुनुपर्ने बताएका थिए । अहिले युवाहरु एकले अर्कालाई स्वीकार गर्न नसक्ने अबस्था रहेको भन्दै यस्तो कुरा अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रममा उद्यमशीलता, व्यक्तिगत वित्त व्यवस्थापन, साइबर कानुन, सञ्चार माध्यमको प्रभाव तथा विश्व राजनीतिले नेपालको अर्थतन्त्र र सर्वसाधारणको भान्सामा पारेको प्रभाव लगायतका विषयमा छलफल गरिएको थियो । चार्टर्ड एकाउन्टेन्ट तथा म्यानेजमेन्ट कन्सल्टेन्ट दिपक सेट्टिले उद्यमशीलता र व्यक्तिगत वित्त व्यवस्थापन, अधिवक्ता मधुसुदन गौतमले साइबर कानुनका विषयमा प्रशिक्षण दिएका थिए ।
त्यस अवसरमा सेठ्ठीले युवाहरुले आम्दानी मात्रै नभई त्यसलाई बचत गर्ने कुरा तर्फ पनि ध्यान दिनुपर्ने बताए । संस्थाका संयोजक दिनेश सिंह नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सल्लाहकार प्रेरणा परियारले गरेकी थिइन्, भने सहसंयोजक अभिना गिरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।



लाइभदाङ । २२ कार्तिक २०८३, शनिबार २२:०२ बजे