तुलसी गौशालाको साधारण सभा

तुलसीपुर
२७ असार / तुलसी गौशाला तथा सरसफाई व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वीरबहादुर भण्डारी ‘मोहन’को अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । तुलसी गौशालामा तीन सय गाईगोरु रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ अम्बापुरमा रहेको गौशालामा विभिन्न व्यक्ति,संघ संस्था, वडा कार्यालय, तुलसीपुर उपमहानगरपालिका,प्रदेश सरकारले सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले गौशाला हेरालुको तलब र गाईका लागि आवश्यक पर्ने घाँस परालका लागि समेत बजेट व्यवस्थापन गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले छाडा चौपाया व्यवस्थापनका लागि पालिकाकोतर्फबाट बजेटको सुनिश्चितता गरिने बताउनुभयो ।


गौ संरक्षणका लागि पालिकास्तरको प्रयासमात्रै नभई राष्ट्रिय जनावर भएकाले सबैको सहयोग साथ अनिवार्य रहेको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले हिन्दु सनातन परम्परामा गौपालनलाई विशेष अध्यात्मसंग जोडिएकाले गौ पालनमा लाग्ने संस्थालाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे,पूर्व अध्यक्ष विमल रिजाललगायतका वक्ताहरुले बोल्नुभएको थियो । २०७६ साउन महिनादेखि सहकारीले गौशाला सञ्चालनमा ल्याएको थियो । तुलसीपुर उपमहानगरपालिकामा वडा नम्बर १३ अम्बापुर र वडा नम्बर १८ बेलझुण्डीमा गौशाला रहेका छन् । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरिहर पौडेलले गर्नुभएको थियो ।