जति मत त्यति बिरुवा रोपण सुरु

तुलसीपुर, २१ असार ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा वडाध्यक्षले प्राप्त गरेको मत संख्याको बिरुवा रोपण सुरु गरिएको छ । हरित वडाकारुपमा विकास गर्नका लागि वडाले प्राप्त मतको बिरुवा रोप्ने र संरक्षण गर्ने निर्णय गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले क्रान्ति संग्रहालय रहेको लामाखोला महिला सामुदायिक वनमा बिरुवा रोपेर सुरु गर्नुभएको हो ।


तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीले एक हजार पाँच सय ६ मत प्राप्त गर्नुभएको थियो । वडाध्यक्ष प्रेमनाथ योगीले वडाभित्र रहेका सामुदायिक वनहरुसंग समन्वय गरेर बिरुवा रोपिने बताउनुभयो । उहाँले बिरुवा रोप्ने मात्रै संस्कार भएकाले ती रोपेका बिरुवा संरक्षण समेत वडातहबाट गरिने बताउनुभयो । नगरप्रमुख टीकाराम खड्काले क्रान्ति संग्रहालयभित्र फलफूल,जडिबुटीका बिरुवा रोपिने बताउनुभयो । उहाँले क्रान्ति संग्रहालयको संरक्षण,संवर्धनमा विशेष ध्यान दिइने बताउनुभयो । पालिकाले त्यस संग्रहालयका लागि सुरक्षाका लागि हेरालुको व्यवस्था गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल,वडाध्यक्ष प्रेमनाथ योगीलगायतका जनप्रतिनिधि,कर्मचारी, सामुदायिक वनका पदाधिकारी,उपभोक्ताहरुले बिरुवा रोप्नुभएको थियो ।