तुलसीपुर
१९ असार / तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ र ४ का पहाडहरुबाट चुनढुंगा लिनकालागि अनुमतिको प्रक्रिया अघि बढिरहेको अबस्थामा दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले त्यो कार्यमा सहयोग नगर्ने बताएका छन् । अनुमतिकालागि त्यो टोली उपमहानगरपालिका, सम्बन्धित वडा कार्यालय तथा बनमा समेत पुग्ने भन्दै आफूहरु समक्ष उनीहरु आए त्यसमा सहयोग नगर्ने बताए ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको टोलीले गराएको ध्यानाकर्षणपछि प्रतिक्रिया दिदै खड्काले यस्तो बताए । ‘हामीले पानीको मुहानलाई असर गर्ने गरि उद्योगहरुलाई अनुमति दिन सक्दैनौं, खानेपानीको मुहान संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो’,उनले भने‘ जनतालाई असर गर्ने काममा हामी समर्थन गर्न सक्दैनौं ।’
सुनगाभा माइन्स प्रालिले तुलसीपुरका पहाडको ९ किलोमिटर क्षेत्रफलमा उत्खनन्कालागि प्रक्रिया अगाडी बढाएकाले त्यसलाई रोक्न खानेपानीले आवाज उठाउँदै आएको छ । आईतबार अध्यक्ष यमकान्त भण्डारी, उपाध्यक्ष सीताराम शर्मासहितको टोली तुलसीपुर उपमहानगरपालिका कार्यालयमा ध्यानाकर्षण गराएको थियो ।
लाइभदाङ । १९ असार २०७९, आईतवार १९:५० बजे