प्रादेशिक अस्पतालमा प्रदेश स्तरीय स्वास्थ्यकर्मी तालीम केन्द्र सञ्चालनमा

तुलसीपुर,१८ असार ।

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा प्रदेश स्तरीय स्वास्थ्यकर्मी तालीम केन्द्र सञ्चालनमा आएको छ । यो संगै अब अस्पतालबाट प्रदेश भरिका स्वास्थ्यकर्मीहरुलाई तालीम प्रदान गरिने छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहका अनुसार यस अघि तालीमकालागि बुटवल, नेपालगञ्ज, काठमाडौं जानुपर्ने अबस्था रहेको थियो । तर, अब भने प्रदेश भरिका सबै स्वास्थ्यकर्मीलाई तुलसीपुरमा उक्त तालीम प्रदान गरिने भएको छ ।

यसले स्वास्थ्यकर्मीको दक्षता बृद्धिमा सहयोग पु¥याउने अपेक्षा गरिएको डा. सिंहले बताउनुभयो ।“तुलसीपुरमै स्वाथ्यकर्मीहरुलाई तालीम दिन तालीम केन्द्र सञ्चालनमा ल्याईएको छ”,उहाँले भन्नुभयो“यो प्रदेशकै लागि पनि महत्वपूर्ण हो, अब यसले स्वास्थ्यकर्मीहरुको दक्षता बृद्धि गर्न मद्दत गर्ने छ ।”


उक्त तालीम केन्द्रको लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्यान मन्त्री इन्द्रजीत थारुले गर्नुभएको हो । त्यस अवसरमा उहाँले जनशक्तिलाई दक्ष बनाउन आबश्यक भएको भन्दै यो कार्यक्रम प्रादेशिक अस्पतालमा सुरु गरेको बताउनुभयो । जनशक्ति भएर मात्रै पनि नहुँने भन्दै उहाँले भएको जनशक्तिलाई दक्ष बनाउनुपर्ने बताउनुभयो । अस्पतालमा पहिलो चरणमा स्वास्थ्यकर्मीहरुकालागि इम्प्लान्ट तालीम प्रदान गरिएको छ । त्यस्तै दक्ष प्रसुतीकर्मीहरु उत्पादनकालागि पनि एसबीए, आयुसीडी, पीपीआईयुसिडीलगायतका तालीमहरु सञ्चालन हुने अस्पतालका सहायक नर्सिङ इञ्चार्ज पुष्पा गिरीले बताउनुभयो ।

अहिले तालीम केन्द्रले अस्थायी अनुमति दिएको भएपनि एक बर्षपछि तालीम केन्द्रले प्रभाबकारी रुपमा काम गरेर स्थायी रुपमा तालीम केन्द्रको अनुमति दिने इञ्चार्ज गिरीले बताउनुभयो । तालीमकालागि आबश्यक सामग्री युएसएआइडीलगायतका संस्थाहरुले सहयोग गरेका छन् । तालीमको प्रशिक्षकमा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंह, नर्सिङ इञ्चार्ज रमा पराजुली, पुष्पा गिरी, किरण भण्डारी, लक्ष्मी ढकाल, उषा बीसी, कलावती महरा, शोभा चौधरीलगायत रहनुभएको छ ।