कांग्रेस महाधिवेशन मंसिर ९–१३ मा हुने

काठमाडौं
३० साउन / प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन तीन महिना पर धकेलिएको छ । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिरको ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । बैठकले तल्ला तहको अधिवेशन भने भदौ १८ गतेदेखि नै सुरु गर्ने भएको छ ।

उनका अनुसार भदौ १८ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, ५ गते प्रतिनिधिसभा क्षेत्रीय समिति र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र १० गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ ।

सहमहामन्त्री प्रकाशसरण महतले भदौ १८ बाट तल्लो तहको अधिवेशन गर्ने र मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको नयाँ पत्रिकालाई जानकारी दिए ।


अगामी असोज २३ गते कांग्रेसको वैधानिक कार्यकाल सकिदैछ । पार्टीको वैधानिकता पनि जोगिने र महाधिवेशनका लागि समेत हतारो नहुने गरी मंसिरका लागि कार्यतालिका ल्याइएको नेताहरुको भनाइ छ । कांग्रेसले यसअघि भदौको १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो ।

महाधिवेशनको नयाँ कार्यतालिका

क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने २०७८–५–२
निर्वाचन निर्देशिका बुझाउने २०७८–५–२
वडा अधिवेशन २०७८–५ – १८
गाउँ–नगर पालिका २०७८–५– २७
प्रदेश क्षेत्र क–ख २०७८–६–१
संघीय निर्वाचन क्षेत्र २०७८–६–५
जिल्ला २०७८–६–१०
प्रदेश २०७८–७–१० देखि १२
केन्द्रीय २०७८–८– ९ देखि १३