लमही नगरपालिकाले ल्यायो एक अर्ब ३९ करोड १ लाख १ हजारको बजेट

दाङ, ११ असार ।

लमही नगरपालिकाले आगामी आर्थिक बर्षका लागी एक अर्ब ३९ करोड १ लख १ हजारको बजेट ल्याएको छ । नगर सभाको बैठकमा उपप्रमुख लक्ष्मी योगीले शाखागत र वडागत रुपमा बजेट विनियोजन गरेको छ । संघिय सरकार समानिकरण अनुदान, समपूरक अनुदान, बिशेष अनुदान, शसर्त अनुदान, प्रदेश सरकार समानिकरण, सवारी साधन राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान, बिशेष अनुदान, आन्तरिक श्रोत लगायतबाट प्राप्त हुने रकमलाई आधार मानेर बजेट बनाइएको छ । गत बर्षको तुलनामा यसपटक २७ करोड ३१ लख १८ हजारले बजेटको आकार बढेको छ ।

नगरपालिकाले सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास शाखामा २३ करोड ७६ लाख, शिक्षा तथा खेलकुद शाखाको लागी ५ करोड ९३ लाख, स्वास्थ्य शाखाको लागी दुई करोड ८० लाख, कृषि विकास शाखामा दुई करोड, लमही अस्पतालको लागी ३ करोड ७० लाख, पर्यटन प्रबद्र्धन तर्फ एक करोड बजेट विनियोजन गरिएको छ ।

वडा कार्यालयहरुको लागी प्रति वडा कार्यालय एक करोड १० लाखको दरले ९ करोड ९० लाख, वातावारण सरसफाई तथा विपद् व्यवस्थापनको लागी एक करोड, पशु सेवा शाखाको लागी दुई करोड, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको लागी दुई करोड बजेट विनियोजन गरिएको छ ।


सामाजिक सुरक्षा शाखामा ५ लाख, ग्रेडर, रोलर, पानी ट्यांकर खरीदका लागी एक करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । समपुरक कोषमा ७ करोड, विपद् व्यवस्थापन कोषमा एक करोड ५० लाख, उद्योग तथा सहकारी क्षेत्रको लागी ३० लाख बजेट विनियोजन गरिएको छ । जनता संग मेयर कार्यक्रमको लागी एक करोड, जनता संग उपमेयर कार्यक्रमको लागी ५० लाख बजेट विनियोजन गरिएको छ ।

लमहीमा बोटानिकल पार्क निर्माणका लागी १० लाख, दिशाजन्य लेदो व्यवस्थापन परियोजना कार्यक्रमको लागी एक करोड २० लाख, सुन्डबरी देखी सितलापुर सम्म सडक स्तरोन्नतीका लागी एक करोड, उचानिम्बु सडक कालोपत्रको लागी ५० लाख, बड्का महरुवा देखी छुट्की महरुवा सम्म कालोपत्र वडा नं. ६ मा एक करोड, कान्तिपुर सडक कालोपत्रे वडा नं. ३ मा ५० लाख, भौका देखी विच्कागाउँको पुरानो खल्यान सम्म सडक कालोपत्रे ९० लाख, नर्ति हाइवे देखी खेल मैदान सम्म सडक कालोपत्रे वडा नं. १ मा एक करोड बजेट विनियोजन भएको छ ।

स्वर्गद्धारीटोल, आनन्दनगर टोलमा सडक कालोपत्रे वडा नंं. ५ मा एक करोड बजेट विनियोजन गरिएको छ । नगर सभाको बैठकले बार्षिक नीति तथा कार्यक्रम संसोधन सहित सर्वसम्मती रुपमा पारित गरेको छ । बैठकले न्यायिक समिति गठन गरेको छ । उपप्रमुख लक्ष्मी योगी संयोजक, केशव अधिकारी र काँशीप्रसाद चौधरी सदस्य रहेको न्यायिक समिति गठन गरिएको छ ।

लेखा समितिको संयोजकमा कालिचरण चौधरी, कृष्णबहादुर खत्री र राधा विक सदस्य चयन भएका छ । विधायन समितिका संयोजकमा अम्बरबहादुर वली, सदस्यमा कृष्ण गिरी र केदर चौधरी, शुसासन समितिको संयोजकमा सुमनकुमार अधिकारी, सदस्यमा लिलाकुमारी चौधरी, पार्वती रानामगर रहेको छ । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।