देउखुरीको भालुवाङबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ, ६ असार ।

दाङको राप्ती गाउँपालिका–१ भालुवाङबाट लागूऔषध ब्राउनसुगरसहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ भालुवाङ निवासी २८ बर्षीय विशाल थापामगर र सोही गाउँपालिका वडा नम्बर २ निवासी २३ बर्षीय उज्वलसिंह रहेका छन् । गत असार ३ गते बेलुका साढे ५ बजेको समयमा भालुवाङ स्थित रतन थापा मगरको घरकोठामा लागूऔषधको कारोबार हुँदैछ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरिक्षक सुजनविक्रम शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।


प्रहरीले रतन थापामगरको घर खानतलासी गर्ने क्रममा १ ग्राम २९० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ सहित निजका रतनका छोरा विशाल थापा मगर र उज्वल सिंहलाई पक्राउ गरिएको प्रहरी निरिक्षक शाहले जानकारी दिएका छन् । पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।