बालबालिकाको जीवनरक्षा र विकासका लागि उपयुक्त पोषणमा जोड १६५ जना महिलालाई निःशुल्क कुखुरा वितरण

शंकर केसी,
सल्यान, १ असार ।

सल्यानको कपुरकोटमा १६५ जना गर्भवति र सुत्केरी महिलालाई निःशुल्क कुखुरा वितरण गरिएको छ । मासु र अण्डाको प्रयोगबाट वालवालिकामा हुन सक्ने कुपोषण न्युनीकरणका लागि भन्दै गाउँपालिकाले बुधबार एक कार्यक्रमका विच सुनौलो एक हजार दिनभित्रका महिलाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो । न्यु हेम्पसायर र अष्ट्रोलोप जातको ४१६ वटा कुखुराको चल्ला वितरण गरिएको पशुपन्छी विकास शाखाले जनाएको छ । वडा नम्बर १, २, ३ र ४ मा २०/२० जना महिलालाई तथा वडा नं ५ र ६ मा २९/२९ जनालाई प्रतिव्यक्ति ३ वटा कुखुराको दरले कुखुराको चल्ला वितरण गरिएको पशुपन्छी विकास शाखा प्रमुख अरुणा भण्डारीले जानकारी दिइन् । न्यु हेम्पसायरले वर्षमा २८० दिन र अष्ट्रोलोप कुखुराले वर्षमा २६० दिन अण्डा दिने उनको भनाई छ ।

कुखुरा वितरण गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले सबैले पोषणको महत्व बुझ्नुपर्ने बताए । बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषणमा उनको जोड थियो । राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्ने, समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य संकटहरूसंग लड्न समर्थ हुने भएकाले पोषण स्थीती सुधार गर्न सबैको सक्रियता आवश्यक रहेको पुनको भनाई थियो ।


यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गर्भवति महिला, शिशु तथा बालबालिकाहरुलाई राम्रोसँग पोषिलो खाना खुवाउन तथा पोषणसम्बन्धि ज्ञान र ब्यवहारलाई अझ सवल र सहि बनाउन सबैले आआफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने धारणा राखे । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष प्रदिप खड्का, वडा नं ५ का वडा अध्यक्ष होम बहादुर खड्का, वडा नम्बर ६ का वडा अध्यक्ष श्यामकृष्ण वोहरा लगाएतको पनि सहभागीता थियो । वहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत एक लाख पचास हजार रुपैयाँको बजेटबाट कुखुराको चल्ला वितरण गरिएको हो । कार्यक्रममा स्वास्थ्य संयोजक अरुण दाहालले पोषणको महत्व, वहु क्षेत्रीय पोषण कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए भने कार्यक्रमको सञ्चालन नायव पशु सेवा प्राविधिक अविकिरण डिसीले गरेका थिए ।